राजधानी घोषणा भए पनि उद्यमीका समस्या उस्तै
काठमाडौँ– तानबाट उत्पादन गरिएका पाल्पाली र तेह्रथुमे ढाका कपडाको बजार देश बाहिर पनि छ । देशभित्र पनि बजार नभएको भने होइन, पाल्पाली र तेह्रथुमे ढाकाको नाम बेचेर मेसिनबाट उत्पादन गरिने मिसावटयुक्त ढाकाले हाते तानबाट बुनिने ढाका कपडालाई ओझेलमा पारेको व्यापारी बताउँछन् । पछिल्लो समय त चीनबाट ढाकाकै जस्तो बुट्टा राखिएको नक्कली कपडाका उत्पादन आउन थालेका छन् ।
गुणस्तरीय ढाका कपडालाई गुणस्तरहीन धागो प्रयोग गरि मेसिनबाट उत्पादित कपडाले बद्नाम गर्न थालेपछि सरकाले ब्राण्ड बनाएर बजारमा लैजाने कामको सुरुवात गर्यो । यहि सिलसिलामा सरकारले अहिलेसम्म पाल्पा र तेह्रथुमलाई ढाका कपडाको राजधानी घोषणा गरेको छ । २०७८ साल चैतमा पाल्पालाई ढाकाको राजधानी घोषणा गरिएको थियो । त्यसको तीन महिनापछि असारमा तेह्रथुमलाई पनि ढाका कपडाको राजधानी घोषणा गरियो ।
तर, सरकारले व्यवसाय प्रवर्द्धन, व्यावसायीलाई सहयोग, बजारमा ब्रान्ड स्थापनालगायत उद्देश्यले ढाका कपडाको राजधानी घोषणा गरे पनि व्यवसायीसामु चुनौतीका चाङ जस्ताका तस्तै छन् । ढाकाका लागि आवश्यक पर्ने धागो मुख्य चुनौतिको रुपमा देखिएको ढाका कपडा उत्पादक संघ तेह्रथुमका अध्यक्ष भीम ल्वागुन र पाल्पाली ढाका संघका सचिव मनोज पौडेलले बताए ।
‘धागो भारतबाट ल्याउनु पर्छ’ अध्यक्ष ल्वागुनले भने, ‘अहिलेसम्मको मुख्य चुनौती भनेको यही हो ।’ विशुद्ध कटनको धागोबाट ढाका कपडा बुन्ने गरिन्छ । तेह्रथुमे ढाका सत प्रतिशत कटनको ट्रेडमार्क पनि दर्ता गरिसकिएको उनले बताए । उनले भने, ‘तर, विशुद्ध कटनको धागो पाउन समस्या रहेकाले यस्तो ट्रेडमार्कको ढाका भने उत्पादन गर्न सकिएको छैन । तेह्रथुममा हुने कपास खेतीबाट खाँडीको लुगा बनाइने भएकाले हामीलाई धागो नै छैन ।’
त्यस्तै चुनौतिको सामना गरिरहेका छन् पाल्पाली ढाकाका व्यापारीहरुले पनि । पाल्पाली ढाका संघका सचिव पौडेलले भने, ‘हामीले २०१५ सालबाट ढाकाको उत्पादन सुरु गरेको हो । तानमा बुनेको ढाकाका कारण हामी जति चर्चित छौँ, त्यति नै कच्चापदार्थका कारण चुनौतिको सामना पनि गरिरहेका छौँ ।’
ढाका कपडाका लागि चाहिने धागो भारतबाट आउँछ । भारतबाट पनि सबै ढाकाका उद्योगीहरुले एकै पटक धेरै धागो ल्याउन सक्दैनन् । व्यापारीले ल्याएको धागो किनेर ढाका कपडा तयार पार्नु पर्दा दुबै राजधानीका व्यवसायीहरुलाई समस्या भइरहेको छ ।
ढाका कपडाको माग भने नेपालभित्रका विभिन्न सहर र बाहिरका देशमा भएको व्यावसायी बताउँछन् । तेह्रथुमे ढाका पुर्वी पहाडका सहरहरुका साथै, काठमाडौँ र देशबाहिर भारत, बेलायत, अमेरिकालगायत देशमा पनि माग हुने गरेको अध्यक्ष ल्वागुनले बताए ।
पाल्पाली ढाका संघका सचिव पौडेलले पनि नेपाल भित्रका धेरै सहर आफ्नो बजार भएको जानकारी दिए । पौडेल सरकारले नीतिगत निर्णय गरेर नेपालको सरकारी अफिसको ड्रेसकोड नै ढाका कपडालाई बनाइदिएको भए उत्पादन र व्यवसाय बढ्ने बताउँछन् । स्मरणीय छ, तेह्रथुमको छथर गाउँपालिकाले आउँदो शैक्षिक सत्रदेखि पालिकाभित्रका सवै विद्यालयका छात्र छात्रालाई ढाकाको सर्ट अनिवार्य गरेको छ । ‘हाम्रो उत्पादनलाई माया र प्रोत्साहन दिने भए, सरकारले पनि सहयोग गर्नुपर्छ,’ पौडेलले भने, ‘सरकारी विद्यालय, अन्य ठाउँ र सरकारी कर्मचारीलाई पनि ढाकाको उत्पादनको पोशाक अनिवार्य गर्ने जस्ता नीतिगत निर्णय गरिदिएको भए अझै राहत मिल्ने थियो ।’
युके एड, लुम्बिनी प्रदेश सरकार, तानसेन नगरपालिका र पाल्पाली ढाका संघको साझेदारीमा ‘नेपाली ढाका समृद्धिको लागि साझेदारी’ परियोजनामार्फत् ब्रान्डिङ गरेको ढाका कपडा बजारमा आउने गरेको सचिव पौडेलको भनाइ छ ।
भारत, चीनबाट आउने नक्कली ढाका कपडाले पाल्पाली ढाका र तेह्रथुमे ढाकाका कपडाको व्यापार धरासायी बन्ने अवस्था सिर्जना हुन्छ कि भन्ने डर दुबै जनामा रहेको छ । अध्यक्ष ल्वागुन भन्छन्, ‘चीन र भारतबाट ढाका जस्तै देखिने अन्य धागोहरु प्रयोग गरेका कपडा बजारमा धेरै आउन थालेको छ, कतिपयले असली र नक्कली जाँचेर लिने गरेपनि कतिपय भने अलमलमा परेको देखिन्छ ।’ अध्यक्ष ल्वागुनले थपे, ‘ग्राहकले तानबाट उत्पादित ढाका नै धेरै रोजेपनि बाहिरबाट आउने नक्कली कपडाले बजार बिगारेको हुँदा अब उपभोक्ता सचेतना फैलाउने र ब्रान्ड बनाएर मात्र बजारमा पठाउँछौँ ।’ ब्राण्डिङ नै गरेर प्रमाणित गरी शुद्ध ढाका कपडा हो भन्ने चिनाउने अभियान अन्तर्गत सरकारले राजधानी घोषणा गरेको अध्यक्ष ल्वागुन सुनाउँछन् ।
ढाका कपडाको राजधानी घोषणा गर्नु अघि कारखानाको स्थिति र सुरक्षा, प्रकाशको व्यवस्था, मजदुरले सरकारले तोकेको न्यूनतम ज्याला पाए नपाएको, कामदारमाथि दुर्व्यवहार भए नभएकोलगायत विभिन्न मापदण्ड तयार पारेर अध्ययन गरेको सचिव पौडेलले बताए ।
सरकारले सबै कुराको अध्ययन गरेको छ’ उनले थपे, ‘तर, पनि ढाकाको कपडा उद्योगहरु हराउछन कि भन्ने संशय छ । विदेशमा रहेका नेपालीले पनि केही नमुना उत्पादन लगेर विदेशमा देखाएका छन् । विदेशी व्यवसायीसँग पनि सरकारी स्तरबाट कुरा भइदिएको भए राम्रो हुन्थ्यो।’
पाल्पामा करिब तीन दर्जनको हाराहारीमा ढाका कपडा व्यापारी छन् । तेह्रथुममा ७० भन्दा बढी ढाका उद्योगीहरु घरेलु उद्योगका रुपमा व्यवसाय दर्ता गरेर लागि परेका छन् ।
यो पनि... ढाका कपडाका राजधानी दुई वटा किन ?