चिटिक्क बन्दै वसन्तपुर क्षेत्र (तस्वीरहरू)
काठमाडाैँ– विश्व सम्पदा सूचीमा सूचीकृत वसन्तपुर दरबार क्षेत्र २०७२ सालको भूकम्पमा परि तहसनहस भयो । भूकम्पले हनुमान ढोका दरबार परिसरमा रहेका कैयौँ धार्मिक र ऐतिहासिक सम्पदा भत्काउनुका साथै जीर्ण बनाएको थियो ।
भूकम्पको ७ वर्ष पूरा हुँदा वसन्तपुर क्षेत्रले आफ्नो पुरानै स्वरूप ग्रहण गरेको छ । वसन्तपुर दरबार ४४ रोपनी क्षेत्रफलमा फैलिएको यो दरबार स्क्वायरलाई हनुमान ढोकाका नामले पनि चिनिन्छ । यो क्षेत्रमा प्राचीन तलेजु भवानीको मन्दिर, नौ तले दरबार, गद्दी बैठक र विभिन्न चोक छन् ।
यहाँका मठमन्दिर र वास्तुकलाका डिजाइन पुरातात्त्विक हिसाबले पनि महत्त्वपूर्ण छन् । भूकम्पले भत्काएको गद्दी बैठक अमेरिकाको सहयोगमा केही समय अघि पुनर्निर्माण गरिएको छ भने हनुमान ढोका दरबार काठमाडौँ महानगरपालिका र हनुमान ढोका दरबार संग्रहालय विकास समिति र अन्य केही संघ संस्थाहरुको सहयोग तथा सहकार्यमा पुनर्निर्माण गरिएको हो ।
पछिल्लो समय सडक पेटीका रेलिङ रङ्गिन बनाइएको छ । पुनर्निर्माण पछि वसन्तपुर क्षेत्रमा पुरानो रौनक फर्किएको छ ।