गोली लागि घाइते भएका जापानी पूर्व प्रधानमन्त्री आबेको निधन
काठमाडौँ– भाषण गर्ने क्रममा गोली लागेर घाइते भएका जापानका पूर्व प्रधानमन्त्री सिन्जो आबेको निधन भएको छ । स्थानीय सञ्चारमाध्यमलाई उद्धृत गर्दै बीबीसीले जनाए अनुसार आबेको उपचारका क्रममा अस्पतालमा निधन भएको हो । उनलाई घरेलु हतियारबाट आक्रमण भएको बताइएको छ ।
६७ बर्षका आबे दक्षिणी जापानमा आयोजित एक कार्यक्रममा भाषण गर्ने क्रममा गोली लागेर ढलेका थिए । लगत्तै उनलाई उपचारका लागि अस्पताल लगिएको थियो । आबे सबैभन्दा लामो समय जापानको प्रधानमन्त्री भएका व्यक्ति हुन् ।
आबेमाथि भएको आक्रमणको विश्वका धेरै नेताले दु:ख व्यक्त गरेका छन् । प्रहरीले गोली हान्ने एकजनालाई घटनास्थलबाटै पक्राउ गरेको थियो । उनले आफु आबेसँग असन्तुष्ट रहेकाले उनको ज्यानै लिने गरि गोली प्रहार गरेको बताएका थिए ।
आबेको जन्म सन् १९५४ मा भएको थियो। उनका बुबा शिन्तारो आबे पनि राजनीतिक नेता थिए । उनी जापानका विदेशमन्त्री भएका थिए । आबेका हजुरबुवा नोबुसुके किशी जापानका प्रधानमन्त्री थिए।
सन् २००६ मा, आबे दोस्रो विश्वयुद्ध पछि जापानको सबैभन्दा कान्छो प्रधानमन्त्री बनेका हुन्। यद्यपि, उनले सोही वर्ष राजीनामा दिए । २०१२ देखि २०२० सम्म जापानको फेरि प्रधानमन्त्री भए। प्रधानमन्त्रीको कार्यकाल सेप्टेम्बर २०२१ मा मात्र समाप्त हुने भएपनि उनले स्वास्थ्य समस्याका कारण २०२० मै राजीनामा दिएका थिए । यद्यपि आबे अझै पनि आफ्नो पार्टीमा सबैभन्दा लोकप्रिय नेता मानिन्थे ।
आबेलाई धेरै वर्षदेखि ठूलो आन्द्राको गम्भीर रोग 'अल्सरेटिभ कोलाइटिस' बाट पिडित रहेको अहिले उनको अवस्था नाजुक भएको समाचारहरूमा जनाइएको छ । सन् २००७ मा पनि अल्सरेटिभ कोलाइटिसका कारण उनले अचानक पदबाट राजीनामा दिएका थिए ।
जापानमा सन् १९३२ मा जापानी प्रधानमन्त्री इनुकाई सुयोशीको एक नौसेनिक अधिकारीले हत्या गरेका थिए । यो एउटा असफल विद्रोहको हिस्सा थियो। जापान विश्वका धेरै देशहरु मध्ये एक हो जहाँ जहाँ बन्दुक राख्ने सम्बन्धमा निकै कडा कानुन छ।
याे पनि
यी हुन् जापानी पूर्व प्रधानमन्त्री आबेलाई गोली हान्ने आक्रमणकारी
प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९ १३:२४
प्रतिक्रिया दिनुहोस्