तत्काल रुसी शर्त नमाने युक्रेनले पछुताउनु पर्ने पुटिनको चेतावनी
मस्को । युुक्रेनमाथि रुसी आक्रमण भएको पाँच महिना पुगिसक्दा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले बिहीबार किभलाई चाँडै नै रुसका शर्तहरू स्वीकार गर्नुपर्ने अन्यथा अझै खराब परिस्थिति सामना गर्न बाध्य हुनुपर्ने बताएका छन् । साथै उनले रुसले अझै कडा कदम चालिनसकेको चेतावनी पनि दिएका छन् ।
क्रेमलिन नियन्त्रित संसदका नेताहसँगको बैठकमा पुटिनले पश्चिम जगतले शत्रुता चर्काउन उक्साउने काम गरिरहेको तथा तिनिहरूले अन्तिम एकजना युक्रेनी बाँकी रहुञ्जेल युक्रनले रुससँग भिडिरहोस् भन्ने चाहेको बताएका छन् ।
पुटिनले भनेका छन्, ‘युक्रेनी जनताका लागि यो दुखान्त छ । तर, युक्रेन यही दिशातर्फ बढिरहेको देखिन्छ । सबैले बुझ्नुपर्ने कुरा के भने अहिलेसम्म हामीले गम्भीर ढंगले केही सुरु गरेकै छैनौं । भिडन्तको अन्त्यका लागि रुस बैठक बस्न तयार छ । वार्ता अस्वीकार गर्नेहरूले युद्ध जति लम्बिन्छ हामीसँग सम्झौता गर्न उति नै कठिन हुनेछ भनेर बुझ्नु पर्दछ । तिनिहरू हामीलाई युद्धभूमिमा परास्त गर्न चाहन्छन् भन्ने सुनिरहेका छौं । त्यो प्रयास गर्न दिऔं ।’
द्वन्द्व सुरु हुनुअघि रुसले सन् २०१४ मा आफूले कब्जा गरेको क्रिमियामा रुसी सार्वभौमलाई किभले मान्यता दिनुपर्ने बताएको थियो । साथै पूर्वी युक्रेनमा रुस समर्थित पृथकतावादीहरूको स्वतन्त्रता स्वीकारिनु पर्ने रुसको माग थियो । अहिले रुसले हालसम्म युद्धको दौरान आफूले जितेको भू(भागमा पनि युक्रेनले हस्तक्षेप गर्न नपाउने बताउन थालेको छ ।