श्रीलङ्का संकट : विरोध प्रदर्शनको तयारी भएपछि विभिन्न ठाउँमा कर्फ्यु आदेश जारी
काठमाडौँ - श्रीलङ्काको पश्चिमी प्रान्तका विभिन्न स्थानमा स्थानीय प्रशासनले कर्फ्यु आदेश जारी गरेको छ । आन्दोलनकारीले विरोध प्रदर्शन गर्ने तयारी गरिरहेका बेला त्यसको पूर्व सन्ध्यामा प्रशासनले कर्फ्यु आदेश जारी गरेको हो ।
स्थानीय समय अनुसार शुक्रबार राति ९ बजेदेखि अर्को सूचना जारी नगरेसम्म कर्फ्यु आदेश कायमै रहने प्रशासनले जनाएको छ । प्रहरीका अनुसार नेगोम्बो, केलानिया, नुगेगोडा, माउन्ट लाभिनिया, उत्तर कोलम्बो, दक्षिण कोलम्बो र मध्य कोलम्बोमा कर्फ्यु आदेश जारी गरिएको हो ।
कर्फ्यु अन्तर्गतका नियमहरूलाई कडाइका साथ पालना गराउन प्रहरीले प्रयास गरिरहेको अधिकारीहरूले जनाएका छन् । त्यसका लागि ठूलो संख्यामा सुरक्षाकर्मीहरू परिचालित भएका छन् ।
कर्फ्यु आदेश लागू भएका क्षेत्रमा हिँड्नु परेमा प्रहरी तथा सरकारी अधिकारीहरूको अनुमतिमा मात्रै हिंड्न पाइने व्यवस्था गरिएको छ । अत्यावश्यक परेमा हिड्न पाइने पनि अधिकारीहरूले जनाएका छन् । राष्ट्रपति गोटावाया राजापाक्षले मुलुकको सङ्कट समाधान गर्न नसकेकाले पदमा बसिरहन नमिल्ने भन्दै उनको राजीनामाको माग गर्दै शनिबार विरोध प्रदर्शन हुन लागेको हो ।
श्रीलङ्काको गिर्जाघरले भने राष्ट्रपति राजापाक्ष र प्रधानमन्त्री रनिल विक्रमासिङ्घेको राजीनामा माग गरेको छ । उनीहरुले आर्थिक सङ्कट, इन्धनको अभाव, मूल्य बृद्धि न्युनिकरण गर्न नसकेकाले पदमा बसिरहनुको औचित्य नरहेको गिर्जाघरको भनाई छ । दुबै जना आफ्नो जिम्मेवारीमा असफल भएकाले उनीहरुले तत्काल राजीनामा दिनुपर्ने तर्क गरिएको छ । उनीहरुले राजीनामा दिएमा अर्को व्यक्तिले संकटको समाधान गर्ने विश्वास पनि व्यक्त गरिएको छ । एजेन्सी