बल्ल प्रशारण लाइनको बाटो खुल्यो
जाजरकोट - कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर भन्दा बाहिरका स्थानीय तहमा नेपाल विद्युत् प्राधिकरणको राष्ट्रिय प्रशारण लाइन पुग्न नसक्दा यहाँका स्थानीयवासी समस्यामा छन् ।
जिल्लाको पञ्चपुरी नगरपालिका, बराहताल गाउँपालिका र चौकुने गाउँपालिकाका सबै भूभागमा राष्ट्रिय प्रसशरण लाइन पुग्न सकेको छैन । स्थानीयवासी खमारीखोला लघु जलविद्युत् आयोजना र बाबियाचौर लघु जलविद्युत् आयोजनाबाट विद्युतीय सेवा लिइरहेका छन् । पश्चिम सुर्खेतमा केन्द्रीय प्रशारण विद्युतको लाइन लिने उद्देश्यका साथ २०७३ सालमा पञ्चपुरी नगरपालिका-६ मा विद्युत् सवस्टेशन निर्माण भए पनि नेपाल विद्युत् प्राधिकरणले हालसम्म पनि उक्त सवस्टेशन प्रशारण लाइनसँग जोड्न नसक्दा केन्द्रीय प्रशारण पुर्याउन चुनौती थपिँदै आएको छ । प्रशारण लाइन लिनका लागि वन क्षेत्र प्रयोग गर्नुपर्ने भएपछि लाइन लिन नसकिएको प्राधिकरणले जनाएको छ ।
प्राधिकरणले उक्त क्षेत्रमा खम्बा समेत पुर्याइसकेको छ । विसं २०७३ मा नेपाल विद्युत् प्राधिकरणले पश्चिम सुर्खेतमा विद्युतीकरण गर्न बाबियाचौरमा सवस्टेसन निर्माण गरेको थियो । तर सञ्चालनमा नआएपछि अहिले सवस्टेसनमा भएका संरचना समेत बिग्रँदो अवस्थामा छन् । सवस्टेशनको काम पूरा भए पनि विद्युत् लाइनका लागि सामुदायिक वन क्षेत्र प्रयोग गर्नुपर्ने हुन्छ । लाइन विस्तारका क्रममा रुख काटिने भएपछि प्रशारण लाइन विस्तारको काम रोकिएको हो ।
नेपाल विद्युत् प्राधिकरणको कणर्ाली प्रादेशिक कार्यालयले भने आयोजनाको काम चाँडै शुरु हुने जनाएको छ । प्राधिकरणको प्रादेशिक कार्यालयका प्रमुख शम्भुकुसियत यादवले भर्खरै अनुमति पाएकाले छिट्टै काम शुरु हुने बताए ।
३३ केभी विद्युत् विस्तारको काम शुरु गरिँदै कोहलपुर-वीरेन्द्रनगर जोड्ने १३२ केभी प्रशारण लाइन विस्तारमा ढिला हुने देखिएपछि कैलालीबाट ३३ केभी विद्युत् विस्तारको काम शुरु गरिएको छ । कोहलपुरबाट ल्याइएको विद्युतले सुर्खेतसहित अन्य जिल्लाको भार धान्न नसकेपछि थप लाइन वीरेन्द्रनगर ल्याउन लागिएको हो ।
वीरेन्द्रनगर ल्याउन लागिएको विद्युत् लाइन कैलालीको चिसापानी-सोल्टा-बाबियाचौर-बड्डिचौर-बाँगेसिमल हुँदै वीरेन्द्रनगरस्थित बुदेबुदे सवस्टेशनमा जोडिनेछ । मोहन्याल गाउँपालिकामा विद्युत् विस्तारका लागि सोल्टासम्म ३३ केभी लाइन नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र कैलालीले यसअघि नै विस्तार गरिसकेको छ । सोल्टाबाट बाबियाचौरसम्म लाइन विस्तारका लागि २४ किलोमिटरमा थप खम्बा हाल्ने र तार विस्तार गर्न ठेक्का आह्वान गरिएको छ । रासस