Nic Ad Nic Ad
Nic Ad Nic Ad

चुरे क्षेत्रको दोहन नरोके मरुभूमिमा परिणत हुन्छ : पूर्व राष्ट्रपति यादव

शुक्रबार, मंसिर ९, २०७९

काठमाडौँ - पूर्व राष्ट्रपति डा. रामवरण यादवले चुरे क्षेत्रको संरक्षणमा सरकारले ध्यान नदिएकोप्रति दुःख व्यक्त गरेका छन् । कान्तिपुर मिडिया ग्रुपद्वारा जनकपुरधाममा आज आयोजित मधेस मन्थन कार्यक्रममा पूर्व राष्ट्रपति डा. यादवले अनधिकृतरूपमा भइरहेको चुरे दोहनका कारण तराई मधेस क्षेत्र मरुभूमि बन्ने अवस्थामा पुग्नै लाग्दा समेत सरकारले चुरे क्षेत्रको संरक्षणमा सरकारको ध्यान पुग्न नसकेकोप्रति दुःख व्यक्त गरे ।

‘पहिला तराई क्षेत्र तराई थियो, यहाँ पर्याप्त पानी हुन्थ्यो, धान, गहुँ पर्याप्त मात्रामा उत्पादन हुन्थ्यो’, पूर्व राष्ट्रपति डा. यादवले भने, ‘तर अहिले तराई मधेसमा पानीको समस्या देखिएको छ, खाद्यान्न बाहिरबाट आयात गर्नुपर्ने अवस्था छ ।’ यसको प्रमुख कारण अनधिकृतरूपमा भइरहेको चुरे दोहन र चुरेको विनास भएको उनको भनाइ थियो ।

यस्तै अवस्थामा चुरेक्षेत्रको दोहन भइरहे आगामी ३० वर्षभित्र तराई मधेस मरुभूमि बन्ने विज्ञहरूले चेतावनी दिइरहेको उल्लेख गर्दै उनले तराई मधेसलाई मरुभूमि बन्न नदिन चुरेको दोहन रोक्नुपर्ने बताए । आफू राष्ट्रपति हुँदा चुरेको संरक्षणका लागि राष्ट्रपति चुरे संरक्षण कार्यक्रम सञ्चालन गरेको सम्झिँदै उनले पछिल्लो समय चुरे विनास गरी भौतिक संरचना निर्माणको काम गरिरहेको प्रति दुःखेसो पोखे । संविधान बन्दा असन्तुष्टि देखिए पनि अहिले संविधानलाई स्वीकार गरी सबै जना अघि बढिरहेको प्रति खुशी व्यक्त गर्दै पूर्व राष्ट्रपति डा. यादवले आफूले घोषणा गरेको संविधान सयौँ वर्षसम्म चलोस् भन्ने आफ्नो चाहना रहेको बताए ।

प्रकाशित मिति: शुक्रबार, मंसिर ९, २०७९  ०६:४४
प्रतिक्रिया दिनुहोस्