प्रेम राई परीक्षितका एकैसाथ ५ पुस्तक लोकार्पण
काठमाडौँ– कवि, गीतकार, बाल साहित्यकार तथा प्याब्सन काठमाडौंका अध्यक्ष प्रेम राई परीक्षितका ५ पुस्तक एकैसाथ लोकार्पण गरिएको छ । शनिवार नेपाल प्रज्ञा प्रतिष्ठान काठमाडौंमा प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेती, गीतकार कृष्णहरि बराल, साहित्यकार अनन्त वाग्ले, डा. यज्ञेश्वर निरौलालगायतले संयुक्त पुस्तक लोकार्पण गरेका हुन् ।
कार्यक्रममा गीतकार कृष्णहरि बरालले परिक्षितका गीति सङ्ग्रह मेरो गीत मेरो प्रतिविम्बमा वियोगका भाव मात्र हैन गीतमा मानिस मानिस बन्न नसकेको र मानवतावादी गीतहरू रहेको बताए । त्यस्तै डा. भोला रिजालले परीक्षितका गीत सङ्ग्रहको समीक्षा गरेका थिए । कविता कृति माथि कवि विना थिङले समीक्षात्मक टिप्पणी गरेकी थिइन् । साथै लोकार्पित बाल साहित्यका कृतिहरूबारे भने साहित्यकार अनन्त वाग्ले र शान्ति सापकोटाले समीक्षात्मक टिप्पणी गरेका थिए ।
साहित्यकार अनन्त वाग्लेले अबका बालगीतहरूले अंग्रेजी गीतहरू ‘जोनी जोनी एस् पापा’, ‘हेप्पी बर्थ डे’ लगायतका गीतहरू विस्थापित गर्ने क्षमता राख्नु पर्नेमा जोड दिए ।
कार्यक्रममा विन्दु अधिकारी ढकालले कवि परीक्षितका कविता वाचन गरेकी थिइन् । कुलपति गंगाप्रसाद उप्रेतीले परीक्षितको क्षमताको प्रशंसा गरे ।कार्यक्रममा उपस्थित व्यक्तित्वहरूलाई लेखक परीक्षितले ५ वटै कृति मोबाइलमा टाइप गरेर प्रकाशनमा ल्याइएको बताए । खोटाङको सिमपानीमा जन्मेका परीक्षित नेपाली साहित्य र शिक्षण पेसामा आवद्ध छन् । यस अघि राईका ३ साहित्यिक कृति प्रकाशित छन् ।
पुस्तकहरू इन्टर्नल प्रकाशनले प्रकाशनमा ल्याएको हो । पुस्तकहरू सपना उड्छ माथि माथि, सपनाहरूको प्रतिस्पर्धा गर्न यात्रा, मेरो गीत मेरो प्रतिविम्ब र दि वन्डरफुल वर्ल्ड रहेका छन् ।
प्रकाशित मिति: शुक्रबार, मंसिर ९, २०७९ ०६:३८
प्रतिक्रिया दिनुहोस्