गैर आवासीय नागरिकता विधेयक संसदमा दर्ता गर्ने मन्त्रिपरिषदको निर्णय
काठमाडौं–नेपाल सरकारको मन्त्रिपरिषद्ले गैर आवासीय नागरिकता सम्बन्धी विधेयक प्रावधानसहित संसदमा पेश गर्ने निर्णय गरेको छ। नेपाल सरकार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीवनराम श्रेष्ठले जानकारी गराएअनुसार शुक्रबार प्रतिनिधि सभाबाट फिर्ता भएको उक्त विधेयक संसदमा दर्ता गर्ने निर्णय मन्त्रिपरिषदले गरेको छ।
गैर आवासीय नेपाली संघका अध्यक्ष डा बद्री केसीका अनुसार एकपटकको नेपाली सधैंको नेपाली भन्दै गैर आवासीय नेपाली संघले लामो समयदेखि उक्त मागको विषयमा पटक–पटक नेपाल सरकारका विभिन्न निकायहरुसँग भेटघाट, छलफल तथा कार्यक्रमहरु गर्दै आईरहेको थियो । यो कार्यको लागि आफ्नो प्रत्यक्ष संलग्नतामा निकै लामो समयदेखि विभिन्न विज्ञहरु, वकिलहरु तथा सरोकारवालाहरुसँग छलफल तथा अन्तरक्रिया गरि नेपाल सरकारलाई मस्यौदा बुझाएको थियो। एनआरएनको मागमा विवाद भएपछि आर्थिक र सांस्कृतिक अधिकारसहितकै नागरिकता दिन सकिने विषयमा छलफल चलेको थियो।
विधेयकमा एनआरएनले राजनीतिक अधिकारबिनाको नागरिकता प्रदान गरिने उल्लेख रहेको छ। बाबुआमाले अङ्गीकृत नागरिकता लिएका सन्तानलाई नेपाली नागरिकता दिने प्रावधान विधेयकमा समेटिएको मन्त्री श्रेष्ठले पुष्टि गरे। ‘एनआरएनको छोराछोरीलाई नागरिकता दिने एउटा व्यवस्था थप गरेर संसदमा दर्ता गर्ने निर्णय भएको छ,’ मन्त्री श्रेष्ठले भने।
डा केसीले यो निर्णयले आफु मात्रै नभई सम्पुर्ण गैर आवासीय नेपालीहरु तथा सरोकारवालाहरु पनि खुशी भएको र नेपाल सरकारले यो कुराको पहल तथा सम्बोधन गरेकोमा नेपाल सरकारलाई आभार प्रकट गर्दै यो विधेयक संसदमा सर्वसम्मतले पास हुनेमा सकारात्मक रहेको बताए । उनले संघका केही मागहरु उल्लेख गर्दै ती माग पुरा गर्न पहलको लागि रसियाबाट २ दिन भित्रैमा नेपाल पुगिसक्ने कुराको जानकारी दिए ।
नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक
७ (क) गैरआवासीय नेपाली नागरिकता प्राप्त गर्न सक्नेः
१. विदेशी मुलुकको नागरिकता प्राप्त गरी दक्षिण एशियाली क्षेत्रीय सहयोग संगठनको सदस्य राष्ट्र बाहेकका देशमा बसोबास गरेको र साविकमा वंशजको वा जन्मको आधारमा निज वा निजको बाबु वा आमा, बाजे वा बज्यै नेपालको नागरिक रही पछि विदेशी मुलुकको नागरिकता प्राप्त गरेको व्यक्तिले आर्थिक, सामाजिक र सांस्कृतिक अधिकार आमनेपाली सरह उपभोग गर्न पाउने गरी गैरआवासीय नेपाली नागरिकता प्राप्त गर्न सक्ने छ ।
(२) उपदफा (१) बमोजिम नागरिकता लिन चाहने व्यक्तिले देहायका कागजात संलग्न राखी मन्त्रालय वा मन्त्रालयले तोकेको निकाय समक्ष तोकिए बमोजिम निवेदन दिनु पर्ने छः
(क) निवेदन दिने व्यक्ति वा निजको बाबु वा आमा, बाजे वा बज्यै साविकमा नेपालको नागरिक रहेको नेपाली प्रमाण,
(ख) विदेशी मुलुकको नागरिकता भएको प्रमाण,
(ग)दक्षिण एशियाली क्षेत्रीय सहयोग संगठनका सदस्य राष्ट्र बाहेकको देशमा बसोबास गरेको प्रमाण,
(घ) नेपालको संविधान र कानूनको परिपालना गर्ने प्रतिबद्धता पत्र
(३) उपदफा २ बमोजिम निवेदन प्राप्त भएपछि मन्त्रालय वा उपदफा (२) बमोजिम तोकिएको निकायले आवश्यक सबुद प्रमाण बुझी निजलाई तोकिए बमोजिम गैरआवासीय नेपाली नागरिकता दिइने छ ।
(४) साविकमा नेपाली नागरिकता लिएको व्यक्तिलाई गैरआवासीय नेपाली नागरिकता दिंदा निजले पहिले लिएको नेपाली नागरिकताको प्रमाणपत्र खिची यस दफा बमोजिमको नागरिकता दिनु पर्नेछ ।
प्रकाशित मिति: शुक्रबार, मंसिर ९, २०७९ ०७:०८
प्रतिक्रिया दिनुहोस्