सभामुख अभयवर्द्धना श्रीलंकाको अस्थायी राष्ट्रपति बन्ने
काठमाडौँ– श्रीलंकाको संसदका सभामुख महिन्दा यापा अभयवर्द्धना अस्थायी राष्ट्रपति बन्ने भएका छन् । पार्टीका नेताहरुले संविधानको प्रावधानअनुसार आफूलाई राष्ट्रपतिको प्रस्ताव गरेको अभयरवर्द्धनाले बीबीसीसँग भनेका छन् ।
सभामुख अभयवर्द्धनाले राष्ट्रपति र प्रधानमन्त्रीले अब पद त्याग्नुपर्ने बताएका छन् । श्रीलंकाको संविधान अनुसार उनले अब केही दिनसम्म राष्ट्रपति पद सम्हाल्ने बीबीसीले जनाएको छ ।
चर्को आर्थिक संकटका कारण आन्दोलन चर्किएपछि राष्ट्रपति राजापाक्षेले सरकारी नै निवास छाडेका थिए । उक्त निवास आन्दोलनकारीले नियन्त्रणमा लिएका छन् । उनीहरुले प्रधानमन्त्री रनिल विक्रमसिंघेको घरमा पनि आगजनी गरिदिएका छन् ।
सभामुख अभयवर्द्धनाले राष्ट्रपति गोटाबाया राजापाक्षेले १३ जुलाईको दिन राजीनामा दिने बताएको जानकारी दिएका छन् । यसअघि प्रधानमन्त्री रनिल विक्रमसिंघेले पनि राजीनामा दिनका लागि तयार भएको बताएको सभामुखले बताए ।
श्रीलंकाको संकटले भयावह रुप लिन सक्ने भन्दै मानवअधिकारकर्मीले चिन्ता व्यक्त गरेका छन् ।