परीक्षामा लगातार लापरबाही देखिएपछि त्रिवि पदाधिकारीको राजीनामा माग
काठमाडौँ– त्रिभुवन विश्वविद्यालयले लिने बोर्ड परीक्षामा लगातारजसो लापरबाही देखिएपछि नेविसंघले त्रिविका पदाधिकारीको राजिनामा मागेको छ ।
निजी कलेजसँगको मिलेमतोमा प्रश्नपत्र बनाउने, गत वर्षकै प्रश्नपत्र हुबहु दोहोर्याउने र फरक विषयका प्रश्नपत्र वितरण गरी विद्यार्थीको भविष्यमा गम्भीर आघात पुर्याउने काम त्रिविबाट भइरहेको भन्दै नेविसंघले त्रिविका पदाधिकारीले राजिनामा दिनुपर्ने बताएको हो ।
त्रिविले असार २२ मा लिएको बीबीए छैटौं सेमेस्टरको एमजीटी २०३ः अर्गनाइजेशन बिह्याभिएरको प्रश्नपत्र मोर्डन नेपाल कलेजले प्रि–बोर्डमा लिएको प्रश्नपत्रसँग हुबहु मिलेको छ। यस्तै, असार २५ गते बीबीए छैटौं सेमेस्टरको नेप्लिज सोसाइटी एण्ड पोलिटिक्स स् एसओसी २०२ विषयको परीक्षामा पद्मकन्या क्याम्पस सेन्टरमा पाँचौं सेमेस्टरको समाजशास्त्र विषयको प्रश्न सोधिएको विद्यार्थीले बताएका छन् । बिरोध पछि त्यहि दिन फेरि ल्याइएको परीक्षा शंकरदेव क्याम्पसले लिएको प्रिबोर्डको परीक्षाको प्रश्नसँग हुबहु मिलेको थियो । त्रिविले यी दुबै परीक्षा रद्द गरिएको जनाएको छ ।
त्रिविको यस्तो गैरजिम्मेवार, शंकास्पद तथा लापरवाहीपूर्ण कदमप्रति नेविसंघ केन्द्रीय समितिको गम्भीर ध्यानाकर्षण भएको अध्यक्ष दुजाङ शेर्पाले विज्ञप्ति निकालेर जनाएका छन् ।
यसअघि त्रिविले गत जेठमा एमए तेस्रो सेमेस्टरको ‘पब्लिक इकोनोमिक्स’ र प्रथम सेमेस्टरको ‘इन्टरनेसनल पोलिटिक्स’ विषयका प्रश्नपत्रहरू गत वर्षकै दोहोर्याएको थियो।
उक्त घटनाको छानबिन गर्न गठित छानबिन समितिद्वारा तयार पारिएको प्रतिवेदन आजसम्म सार्वजनिक नगर्नु, दोषीलाई उम्काउने चलखेल गर्नु, पटकपटक परीक्षा प्रणालीको विश्वसनीयतामाथि प्रहार गरिरहनु, बिचौलिया र निजी कलेजसँग साँठगाठ गरिरहनु, आदि घटनाले विश्वविद्यालयका पदाधिकारी तथा जिम्मेवार निकायहरू पतित भएको पुष्टि भैसकेको छ,’ नेविसंघले निकालेको विज्ञप्तिमा जनाइएको छ ।
विज्ञप्तिमा भनिएको छ– ‘‘प्रश्नपत्र निर्माण तथा नियमन गर्ने निकायका जिम्मेवार व्यक्तिहरू तथा सम्पूर्ण विचौलियाहरूलाई कार्बाहीको दायरामा नल्याएको खण्डमा त्रिविविरुद्धमा नेविसंघ आन्दोलनको आँधिबेहरी सिर्जना गरि जस्तोसुकै कदम पनि उठाउन बाध्य हुनेछ ।’