आरआरआर र बाहुबलीका लेखक भन्छन्—अब फिल्मको कथा कम लेख्छु
मुम्बई— ‘आरआरआर’, ‘बाहुबली’ जस्ता साउथ फिल्मले बक्सअफिसमा मात्र होइन, बलिउडमा पनि खलबली मच्चायो । यो फिल्मका निर्देशक र कलाकारका बारेमा जोकोही जान्दछन्, तर यी फिल्मको कथा लेख्ने लेखकलाई भने सीमित व्यक्तिले मात्र चिन्दछन् ।
यो फिल्मको कथा एसएस राजामौलीका पिता विजयेन्द्र प्रसादले लेखेका हुन् । उनै विजयेन्द्रलाई भारतीय राष्ट्रपतिले राज्यसभाको उम्मेद्वारका रुपमा मनोनयन गरेका छन् । उनले ‘बाहुबली’का अलावा ‘बजरंगी भाइजान’, ‘राउडी राठोर’ जस्ता ब्लकबस्टर फिल्मको कथा लेखेका छन् । यिनै विजयेन्द्रले भने अब यस्ता सुपरहिट फिल्मको कथा लेख्ने कामलाई हालका लागि रोक्ने संकेत गरेका छन् ।
उनले आफू मनोनयनमा परेको कुरा थाहा नपाएको जनाएका छन् । ‘तर जब मलाई यो कुराको जानकारी दिइयो, म छक्क परें । राज्यसभाको उम्मेद्वारको रुपमा मनोनित हुनु गर्वको कुरा हो । म यसको सम्मान गर्छु । मेरो पहिलो प्राथमिकता राज्यसभाको कर्तव्यमा सहभागिता जनाउनु हो । अब फिल्म लेख्ने काम खाली समयमा मात्र गर्नेछु’, उनले भनेका छन् ।
विजयेन्द्र हाल सलमान खानको फिल्म ‘बजरंगी भाइजान’को सिक्वेल ‘पवन पुत्र भाइजान’को पटकथा लेखिरहेका छन् । उनले ‘राउडी राठोर २’ र ‘१९९०ःएक संग्राम’ पनि लेखिरहेका छन् । यसबाहेक बंकिम चन्द्र चटर्जीको सन् १८८२ को बंगाली उपन्यास ‘आनन्दमठ’को रुपान्तरण पनि गर्दैछने । उनी महेश बाबु र छोरा एसएस राजामौलीको आगामी फिल्मको कथामा पनि काम गरिरहेका छन् ।
—अमरउजाला
प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९ ०४:०३
प्रतिक्रिया दिनुहोस्