लेखक संगीत स्रोतामाथि यौन दुर्व्यवहारको आरोप
काठमाडौं—कवि, लेखक तथा पत्रकार संगीत स्रोता (यम क्षेत्री) माथि एक लेखिका तथा अधिवक्ताले यौन दुर्व्यवहारको आरोप लगाएकी छन् । शनिबार राती फेसबुकमा लाइभमार्फत उनले संगीतले आफूलाई २०७२ सालमा यौन दुर्व्यवहार गरेको बताएकी हुन् ।
उनले कविता संग्रहको सम्पादनको क्रममा संगीतकै कोठामा गएका बेला आफुलाई यौन दुर्व्यवहार गरेको दाबी गरेकी छन् । त्यसबेला तनावमा रहेको र यसबारेमा प्रगतिशिल वृत्तका धेरै लेखक कविलगायतलाई जानकारी गराएको उल्लेख गरेकी छन् ।
‘ पटक—पटक संगीतसहित र बेग्लै पनि बसेर यसबारेमा छलफल गर्यौ । घटनाबारे छानविन पनि भयो, तर मलाई न्याय मिलेन’, उनले भनेकी छन्, ‘त्यसपछि अहिले बाध्य भएर हिम्मत बटुलेर फेसबुक लाइभमार्फत यो कुरा बताइरहेकी छु ।’
उनले संगीतको कीर्तिपुरस्थित डेरामा आफ्नो पुस्तक सम्पादनको काम गर्न गएको र त्यो दिन त्यहाँ फरक फरक कोठामा सुतेको तर, बिहान ब्यूझिँदा संगीत आफ्नो बेडको छेवैमा आएको पाएको दाबी गरेकी छन् । त्यसपछि संगीतले आफ्नो हात तानेर म्वाइ खाएको उनको आरोप छ । उनी हाल चितवनमा कानून ब्यवसायमा आवद्ध छिन् ।
संगीत भन्छन्ः आरोप गलत हो
आरोपी संगीतले भने आफूमाथि लागेको आरोप गलत भएको दाबी गरेका छन् । शनिबार साँझ नै फेसबुकमा स्टाटस लेख्दै उनले आफुमाथिको आरोपको खण्डन गरेका छन् । उनले ‘यौन दुर्व्यवहार’को घटना नै नभएको दाबी गरेका छन् । ‘यौन दुव्र्यवहारको घटना न भएको हो, न त्यसरी लागेको आरोपलाई मसम्बद्ध संगठनले ‘गुपचुप पार्ने प्रयास’ नै गरेको हो ।’ उनले लेखेका छन् ।
संगीतले पुस्तक सम्पादनका क्रममा तिवारी आफ्नो कोठामा आएको, सँगै काम गरेको तर त्यसबेला अर्का ब्यक्तिसहित आफुहरु तीनजना रहेको र आरोप लगाइजस्तो कुनै घटना नभएको उनको दाबी छ ।
‘एकजना महिला लेखकले केही साथीलाई फरक–फरक समयमा भेटेर मौखिक रुपमा कल्पित कथासहित सुनाएको र २०७९ असार ९ गते ‘प्रतिरोध’का नाममा घटना केही नलेखी अमूर्त रुपमा ‘यौन हिंसा’ भएको अमूर्त बेहोराको पत्र लेखेको सत्य हो,’ उनले थप लेखेका छन्– ‘जुन आरोप पूर्णतः कल्पित, बदलाभावले युक्त, पूर्वाग्रहप्रेरित, राजनीतिक प्रतिशोधयुक्त र झुट्टा हो । मैले त्यस आरोपलाई तुरुन्तै खारेज गर्दै संगठनमा आफ्ना तर्फबाट सत्यतथ्य विवरण पेश गरेको थिएँ, त्यस आरोपबारे तुरुन्तै अध्ययन होस् भनी आफूउपर लगाइएको आरोपलाई नैतिक प्रश्नका रुपमा लिएर तत्काल आफू कार्यकारी रहेको जिम्मेवारीमा नरहने जानकारी गराएको थिएँ ।’
संगठनले तत्कालै यसबारे पहल लिई अध्ययन समिति बनाई उनी पीडित हुन् भने ‘सबै न्यायिक प्रक्रियामा साथ दिने’ दृढतासहित उनलाई जवाफ लेखेको पनि संगीतले बताएका छन् ।
प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९ ०४:०३
प्रतिक्रिया दिनुहोस्