Nic Ad Nic Ad
Nic Ad Nic Ad

गुल्मीमा लिची उत्पादन घटेपछि कृषक चिन्तित

शुक्रबार, मंसिर ९, २०७९
गुल्मी — गुल्मीको रुरुक्षेत्र गाउँपालिका १ च्यूरेकका तारानाथ ज्ञवाली उमेरले ७६ वर्षका भए । उनी बिहान झिसमिसे देखी बेलुका अबेर सम्म लिचीको स्याहार सम्भार गर्न बगैँचामा हुन्छन् । उनले विगतका वर्षमा व्यवसायिक लिची खेतीबाट वार्षिक मनग्य आम्दानी गर्थे । लिची बिक्रीबाट आम्दानी भएको रकमले उनको दैनिकी गजरामा केही सहजता ल्याएको थियो । प्रत्येक वर्ष लिचीबाट राम्रो प्रतिफल हात पार्दै आएका ज्ञवाली यसपटक उत्पादनमा ह्रास आएपछि दुखी छन् । उनी जस्तै लिची बेचेर जिविको पार्जन गर्दै आएका च्यूरेकका ,थोर्गा थानपतीका कृषकलाई यसवर्ष लिचीको बोटमै अज्ञात किरा लाग्ने र फल नलाग्ने समस्या देखिएपछि थप निराशा कृषक तारानाथ ज्ञवालीले बताए ।  कृषक ज्ञवालीले भने “विगत ३ वर्षादेखि लिची उत्पादनमा कमी मात्रै आएको छैन् यसमा लागेको रोग र कीरा नियन्त्रणमा कसैको  आखा पुगेको देखिन्न।” विगतका वर्षमा यसक्षेत्रका कृषकले स्थानीय बजार हुदैँ तम्घास, पाल्पा, बुटवल, काठमाडौं लगायतका शहरमा वार्षिक लाखौंको लिची बिक्री गर्ने गरेको कृषक युवराज ज्ञवाली बताउँछन् । उनले भने अघिल्ला विगतका वर्षको तुलनामा यसवर्ष ५ प्रतिशत मात्रै लिची उत्पादन भएको छ । उत्पादनमा कमी आएपछि लिची बिक्रीमा पहिले जस्तो अहिले कृषकमा जाँगर देखिँदैँन । एउटै बोटमा फलेको लिची बिक्री गरेर ८० हजार रुपैयाँसम्म आम्दानी भएको कृषक ज्ञवाली बताउँछन् । लिची खेतीकै भरमा घरखर्च चलाउनेहरू उत्पादनमा कमी आएपछि मर्कामा परेका छन् ।  रुरुक्षेत्र गाउँपालिकाको च्यूरेक लगायतका स्थानमा झण्डै २ सय परिवारले घर छेउ र बारीमा लिची लगाएका छन् । च्यूरेकमा ०३६ सालबाट लिची खेतीको सुरुवात गरिएको थियो ।समुन्द्र सतहको हजार मिटरको उचाइमा १ सय ५० हेक्टर क्षेत्रफलमा लिची खेती गरिएको छ । ६० हेक्टरमा उत्पादनशील रहेको कृषि ज्ञान केन्द्र गुल्मीले जनाएको छ । कृषकले पुरानै अभ्यास र प्राविधिक सल्लाह विना खेती गर्दा समस्या देखिएको र आगामी बर्ष रोग र किराको नियन्त्रण गर्ने गरी कार्यक्रम ल्याइने कृषि ज्ञान केन्द्र गुल्मीका प्रमुख नवराज भण्डारीले जानकारी दिए ।  लिची उत्पादन भएको लिचीलाई बजारीकरण र प्रचारप्रसारका लागी प्रत्येक वर्ष असार २ गते गुल्मीमा लिची महोत्सव गरिदै आएको छ । तर विगतवर्ष देखि उत्पादनमा कमी र कोरोनाका कारण लिची महोत्सव हुन सकेको छैन । समस्या समाधानका निम्ती यि र यस्ता कृषकका समस्यालाई आगमी वर्षको नीती तथा कार्यक्रम समावेश गरिने रुरुक्षेत्र गाउँपालिकाका अध्यक्ष यदु ज्ञवालीले जानकारी दिए ।रुरुक्षेत्रमा लिचीको सम्भावना छ त्यसकारण कृषकका गुनासा सुन्ने र उत्पादन वृद्धिमा जोड दिने स्थानीय सरकारको दायित्व हो गाउँपालिका अध्यक्ष ज्ञवालीले भने ।   
प्रकाशित मिति: शुक्रबार, मंसिर ९, २०७९  ०७:०५
प्रतिक्रिया दिनुहोस्