लिग टु क्रिकेटमा नेपाल आज नामिबियासँग खेल्दै
काठमाडौँ– आईसीसी विश्वकप लिग टु क्रिकेटमा नेपालले आज पहिलो खेल खेल्दैछ । त्रिकोणात्मक शृंखलाका लागि स्कटल्याण्डमा रहेको नेपालले सिरिजको पहिलो खेलमा नामिबियाको सामना गर्दैछ ।
नेपाल र नामिबियाबीचको खेल दिउँसो नेपाली समय अनुसार ३:१५ बजे सुरु हुनेछ ।
आइतबारदेखि स्कटल्याण्डमा सुरु नेपाल, स्कटल्याण्ड र नामिबिया सम्मिलित त्रिकोणात्मक एक दिवसीय शृंखलामा नेपालले आज नामिबियासँग खेल्न लागेको हो ।
नेपाल आज नामिबियालाई हराउँदै शृंखलामा सुखद सुरुआत गर्न चाहन्छ । तर, नामिबियालाई हराउँन नेपाललाई सहज भने हुनेछैन । लिग टु मा नामिबियासँग नेपालले पहिलो पटक खेल्न लागेको हो ।
शृंखलाको पहिलो खेलमा नामिबिया स्कटल्याण्डसँग पराजित भएको थियो ।
लिग टू को अंक तालिकामा नेपाल १६ खेलमा १५ अंक जोडेर पाँचौं स्थानमा रहेको छ । नामिबिया १५ खेलमा १४ अंक जोडेर छैटौं स्थानमा रहेको छ ।
शृंखला अन्तर्गत नै नेपालले दोस्रो खेल स्कटल्याण्डविरुद्ध २९ असारमा खेल्नेछ । नेपालले तेस्रो खेलमा नामिबियाविरुद्ध ३२ असारमा र अन्तिम खेलमा नेपालले स्कटल्याण्डविरुद्ध १ साउनमा खेल्ने तालिका रहेको छ ।