हेड टू हेडमा नेपाल र नामिबिया
काठमाडौँ-आईसीसी विश्वकप लिग टू अन्तर्गत नेपाल आज (सोमबार) नामिबियासँग खेल्दैछ । खेल
स्कटल्याण्डमा नेपाली समय अनुसार दिउँसो ३:१५ बजे सुरु हुँदै छ ।
नेपाल र नामिबिया एकदिवसीय क्रिकेटमा आज पहिलो पटक खेल्न लागेका हुन् । तर लिस्ट ए मान्यता प्राप्त र अन्य प्रतियोगिताहरूमा अहिलेसम्म नेपाल र नामिबियाले पाँच पटक खेलेका छन् । जसमा नेपाल चार खेलमा र नामिबिया एक खेलमा विजयी भएका छन् ।
नेपालले नामिबियासँग पहिलो पटक सन् २००१ मा आईसीसी ट्रफीमा खेलेको थियो । क्यानडामा भएको यो खेलमा नेपाल आठ विकेटले पराजित भएको थियो ।
नेपाल र नामिबियाकाे दोस्रो खेल सन् २०१५ मा भएकाे थियो । आईसीसी लिग डिभिजन टूमा भएको खेलमा नेपाल ३ विकेटले विजयी भएको थियो । यो खेलमा नेपालका कप्तान पारस खड्काले अर्ध शतक बनाएका थिए ।
सन् २०१७ मा नेपालमा भएका विश्व क्रिकेट च्याम्पियनसिपका दुई खेलमा नेपालले शतप्रतिशत नतिजा निकालेको थियो ।
पछिल्लो पटक सन् २०१८ मा नामिबियामा भएको खेलमा पनि नेपाल १ विकेटले विजयी भएको थियो ।
अहिले झन्डै ४ वर्षपछि नेपाल र नामिबिया खेल्न लागेका छन् । पछिल्लो समय नामिबिया आक्रामक बन्दै गएको छ। नेपाल भने परम्परागत ब्याटिङकै समस्याबाट माथि उठ्न सकेको छैन । यस्तो अवस्थामा नेपालका लागि नामिबिया बलियो प्रतिद्वन्द्वी बन्ने आँकलन गरिएको छ । प्रतियोगिताका सबै खेल अत्यन्तै महत्त्वपूर्ण रहेकाले दुवै टिमले जित्नका लागि सक्दो कोसिस गर्नेछन् ।
प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९ ०८:२४
प्रतिक्रिया दिनुहोस्