युवा संघले घेर्यो एकान्तकुनास्थित यातायात कार्यालय (तस्वीरहरू)
ललितपुर - नेकपा एमाले निकट भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपालले ललितपुरको एकान्तकुनास्थित यातायात व्यवस्था कार्यालय घेराउ गरेको छ ।
आज (सोमबार) संघले यातायात कार्यालयले सवारी चालक अनुमति पत्र (लाइसेन्स) वितरणमा अनियमितता, ढिलासुस्ती र लापर्बाही गरेको भन्दै कार्यालय घेराउ गरेको हो । कार्यक्रममा बोल्दै राष्ट्रिय युवा संघ नेपालका अध्यक्ष किरण पौडेलले अनलाइन फारम भर्ने भनेर अनलाइन साइट खोले पनि पूणर्रूपमा नचल्ने साइट बनाएको आरोप लगाएका छन् । उनले साइट नचल्दा नागरिकहरू फेरि बिचौलियाकोमा पुगिरहेको बताएका छन् ।
उनले अनलाइन फारम नाम मात्रैको भएको भन्दै यसलाई व्यवस्थित गर्न कार्यालयको ध्यानाकर्षण गराएका छन् । उनले कर्मचारी र बिचौलियालाई पैसा खुवाएर लाइसेन्सको परीक्षा र ट्रायल दिने काम बन्द गर्नुपर्ने बताएका छन् । उनले देशका धेरै कार्यालयहरूमा पारदर्शिताको अभाव रहेको दाबी गर्दै यातायात कार्यालयले मनपरीरूपमा लाइसेन्स लगायतका कुराहरूमा ढिलासुस्ती गर्न नहुने बताए ।
उनले सहजै हुने काम पनि पैसाका लागि घुमाउरो बाटो अपनाएर लम्ब्याउने काम भइरहेको आरोप लगाएका छन् । उनले यातायात कार्यालयमा भएका सबै सेटिङ र बिचौलियालाई जरोदेखि नै ध्वस्त पार्न आवश्यक रहेको बताएका छन् । युवा संघका प्रदर्शनकारीहरूले ढुङ्गेयुगको अनलाइन फारम, भर्नेलाई भन्दा हेर्नेलाई शरम, लाइसेन्स प्रिन्टलाई विकेन्द्रीकृत गरलगायतका ब्यानर र नारा लगाएर विरोध गरेका थिए ।