नेप्से ७७.०१ अंकले घट्यो
काठमाडौँ– आज नेप्से उच्च अंकले घटेको छ । सेयर बजार ७७.०१ अंकले घट्दा नेप्से परिसूचक १९१५.६१ अंकमा आएको छ ।
सेयर कारोबार रकम पनि २ अर्ब ३२ करोड रुपैयाँमा सीमित भएको छ । ३ दिनको अन्तरालमा सूचक १२० अंक भन्दा बढीले घटेको छ । आर्थिक वर्षको अन्त्य नजिकिँदै गएपछि सेयर बजारमा दबाब परेको विश्लेषण गरिएको छ ।
यस्तै, लगानीकर्ताहरु अहिले आगामी आर्थिक वर्षको मौद्रिक नीतिको प्रतिक्षामा रहेका छन् । लगानीकर्ताहरुमा कस्तो मौद्रिक नीति आउँछ भन्ने चासो बढेर गएको छ । लगानीकर्ताहरु सेयर बजारमैत्री मौद्रिक नीति चाहन्छन् । सेयर धितो कर्जामा कायम रहेको ४–१२ करोडको सीमा हटोस् भन्ने चाहन्छन् । यद्दपि, मौद्रिक नीतिको सुझाव संकलनका क्रममा राष्ट्र बैंकका गभर्नरले भने अर्थतन्त्रको अवस्था चुनौतीपूर्ण रहेकाले मौद्रिक नीति सोही अनुसारको आउने बताएका छन् ।
यता, प्रतिनिधि सभा अन्तरगतको अर्थ समितिले आयोजना गरेको मौद्रिक नीति सम्बन्धी छलफलमा गभर्नरले मूल्य वृद्धिदर अनुमानभन्दा माथि गएको र यसलाई नियन्त्रण गर्न ब्याजदर बढाउनुपर्ने बताएका छन् ।
ब्याजदर बढेमा सेयर बजार थप प्रभावित बन्नसक्छ । मौद्रिक नीतिलाई लिएर लगानीकर्ताहरुमा पनि अन्योलताको अवस्था सिर्जना भएको छ । जसको असर पनि सोमबार बजारमा परेको अनुमान गरिएको छ ।
यस दिन २२७ कम्पनीको ६३ लाख १३ हजारभन्दा बढी कित्ता सेयर कारोबार भएको छ । ११ करोड ४ लाख रुपैयाँभन्दा बढीसहित कारोबार रकममा हिमालयन डिस्टिलरी अग्रस्थानमा रहेको छ । यसैगरी, दोस्रो र तेस्रो स्थानमा क्रमशः एनआइसी एसिया बैंक र अपर तामाकोशी हाइड्रोपावर परेका छन् । यस दिन सबै सूचीकृत समूहमा गिरावट आएको छ ।
प्रकाशित मिति: शुक्रबार, मंसिर ९, २०७९ ०१:५३
प्रतिक्रिया दिनुहोस्