Nic Ad Nic Ad
Nic Ad Nic Ad

१६ प्रतिशतले घट्यो विदेशी मुद्रा सञ्चिति, ११ महिनामा दुई खर्ब बढीको गिरावट

शुक्रबार, मंसिर ९, २०७९

काठमाडौँ - नेपालको विदेशी मुद्रा सञ्चिति झण्डै १६ प्रतिशतले घटेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको ११ महिनाको तथ्याङ्कअनुसार यो अवधिमा विदेशी मुद्रा सञ्चितिमा दुई खर्ब बढीको गिरावट आएको जनाइएको छ ।  २०७८ असार मसान्तमा १३ खर्ब ९९ अर्ब ३ करोड बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति १५.९ प्रतिशतले कमी आई २०७९ जेठ मसान्तमा ११ खर्ब ७६ अर्ब ८४ करोड कायम भएको छ ।

अमेरिकी डलरमा यस्तो सञ्चिति २०७८ असार मसान्तमा ११ अर्ब ७५ करोड रहेकोमा २०७९ जेठ मसान्तमा १९.६ प्रतिशतले कमी आई ९ अर्ब ४५ करोड कायम भएको छ ।

कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति २०७८ असार मसान्तमा १२ खर्ब ४४ अर्ब ६३ करोड रहेकोमा २०७९ जेठ मसान्तमा १७.१ प्रतिशतले कमी आई १० खर्ब ३१ अर्ब ८९ करोड कायम छ । बैंक तथा वित्तीय संस्था (नेपाल राष्ट्र बैंकबाहेक) सँग रहेको विदेशी विनिमय सञ्चिति २०७८ असार मसान्तमा १ खर्ब ५४ अर्ब ३९ करोड रहेकोमा २०७९ जेठ मसान्तमा ६.१ प्रतिशतले कमी आई १ खर्ब ४४ अर्ब ९५ करोड कायम भएको छ ।

२०७९ जेठ मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २५.० प्रतिशत रहेको छ । आर्थिक वर्ष २०७८/७९ को ११र महिनाको आयातलाई आधार मान्दा बैकिङ्ग क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति ७.५३ महिनाको वस्तु आयात र ६.७३ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने देखिन्छ ।

२०७९ जेठ मसान्तमा विदेशी विनिमय सञ्चितिको कुल गार्हस्थ्य उत्पादन, कुल आयात र विस्तृत मुद्राप्रदायसँगका अनुपातहरु क्रमशः २४.३ प्रतिशत, ५६.१ प्रतिशत र २२.० प्रतिशत रहेका छन् । २०७८ असार मसान्तमा यी अनुपातहरु क्रमशः ३२.७ प्रतिशत, ८४.७ प्रतिशत र २७.१ प्रतिशत रहेका थिए ।

प्रकाशित मिति: शुक्रबार, मंसिर ९, २०७९  ०१:५३
प्रतिक्रिया दिनुहोस्