दूध उत्पादन घट्दा दुग्ध पदार्थको अभाव
काठमाडौँ– पर्याप्त दूध सङ्कलन नहुँदा काठमाडौँमा दुग्ध पदार्थको आपूर्तिमा समस्या भएको छ । मागलाई थेग्ने गरी दूध सङ्कलन नहुँदा काठमाडौँमा दही, बटर नौनी लगायत दुग्ध पदार्थको अभाव भइरहेको दुग्ध विकास संस्थानका सूचना अधिकारी राजेन्द्रप्रसाद अधिकारीले जानकारी दिए । अहिले ‘स्थानीय खपत’ बढी भएकाले दुग्ध विकास संस्थानमा पर्याप्त दूध नआएको र यसका कारण बजारमा दुग्ध पदार्थको अभाव बढेको उनले बताए ।
हाल संस्थानलार्ई दैनिक ३० हजार लिटरको हाराहारीमा दूध अभाव भइरहेको उनले बताए । यो समस्या गत वैशाखदेखि जारी रहेको र यसको समाधान गर्न संस्थान लागिरहेको उनको भनाई छ । यसका लागी संस्थानले किसानलाई दूधको बढी मूल्य दिएर प्रोत्साहन गर्ने, समय समयमा विभिन्न प्रकारका टेन्डर खुल्ला गर्ने र केन्द्रीय कार्यालयबाट पनि किसानलाई प्रोत्साहन गर्ने काम भइरहेको अधिकारीले बताए ।
डेरी एसोसिएसनका अध्यक्ष प्रह्लाद दाहाल अहिले दूधको अभाव हुने समय भएकाले बजारमा दुग्ध पदार्थको मागका तुलनामा आपूर्ति कम भएको बताउँछन् । कात्तिक देखी माघसम्म प्रशस्त दूध उत्पादन हुने र फागुनदेखि असोजसम्म भने दूध कम उत्पादन हुने तर खपत बढ्ने भएकाले आपूर्तिमा समस्या हुने गरेको दाहालको भनाई छ । सहरी क्षेत्रमा पशुपालनमा आबद्ध भएका किसान कोरोनाका कारण पेसाबाटै विस्थापित हुँदै गएको कारण पनि दूधको उत्पादन घटेको दाहालले बताए ।
पहिलेको तुलनामा कम दूध उत्पादन भइरहेको तर गर्मीको समयमा दही मोही जस्ता दुग्ध पदार्थको माग बढी हुने हुँदा अभाव झनै बढेको उनको बुझाई छ । हाल देशमा करिब ३ लाख लिटर दूधको अभाव भइरहेको र अबको करिब दुई महिनासम्म यो अभाव कायमै रहने उनको भनाइ छ । अहिले देशभरी दैनिक ३१ लाख लिटर दूध उपलब्ध रहेको तर बजारको माग भने करिब ३४ लाख लिटरको हाराहारीमा रहेको अध्यक्ष दाहालले बताए । यसअनुसार दैनिक ३ लाख लिटर दूधको अभाव देखिन्छ ।
तत्काल उत्पादन बढाइहाल्ने उपाय नभएकाले उपभोक्ताले उपभोगमा सम्झौता गर्नुको विकल्प देखिँदैन । यसलाई दुग्ध उत्पादनमा लाग्न चाहनेका लागि राम्रो अवसरका रूपमा लिन सकिन्छ ।