Nic Ad Nic Ad
Nic Ad Nic Ad

भारतमा बाढीले जनजीवन प्रभावित, हालसम्म १३९ जनाको मृत्यु

बिहीबार, मंसिर ८, २०७९

काठमाडौँ– भारतको गुजरात र महाराष्ट्रमा भारी वर्षासँगै आएको बाढीमा परी एक सय ३९ जनाको मृत्यु भएको छ ।

मनसुन सक्रिय भएसँगै भारतका २० भन्दा बढी राज्यमा निरन्तर वर्षा भइरहेको छ भने गुजरातका ६ जिल्लाको जनजीवन पूर्ण रुपमा प्रभावित भएको छ । भारतीय सञ्चारमाध्यमका अनुसार गुजरातमा मात्रै पछिल्लो २४ घण्टामा ६३ जनाको ज्यान गएको छ । यस्तै महाराष्ट्रमा ९ जनाको मृत्यु भएको छ । महाराष्ट्रमा गत १ जुन यता बाढीमा परी ७६ जनाको मृत्यु भइसकेको छ ।

यस्तै, मध्यप्रदेशमा चट्याङ लागेर ७ जनाको मृत्यु भएको छ ।

यसैबीच, प्रधानमन्त्री नरेन्द्र मोदीले गुजरातका मुख्यमन्त्री भूपेन्द्र पटेललाई फोन गरेर पछिल्लो अवस्थाको जानकारी लिएका छन् । मोदीले केन्द्र सरकारको तर्फबाट हरसम्भव सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् ।

गुजरातका ६ जिल्लामा भारी वर्षासँगै आएको बाढीले जनजीवन अस्तव्यस्त बनाएको छ । भारी वर्षाका कारण गुजरातका १७४ गाउँमा विद्युत आपुर्ति ठप्प छ । हालसम्म ९ हजार मानिसलाई सुरक्षित स्थानमा सारिएको अधिकारीहरुले जानकारी दिएका छन् । बाढीका कारण ३८८ सडक बन्द भएका छन् ।

भारतीय मौसम विज्ञान विभागले पूर्र्वोत्तर राज्य असम, मेघालयपछि अब मध्यप्रदेशमा भारी वर्षाको चेतावनी दिएको छ । मध्यप्रदेशका ३३ जिल्लामा भारी वर्षाको प्रभाव रहेको जनाएको छ ।

प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९  १२:४५
प्रतिक्रिया दिनुहोस्