एनआईसी एसियाले भित्र्यायाे नयाँ प्रविधि, अब मेशिनबाटै रकम जम्मा गर्न सकिने
काठमाडौँ - एनआईसी एसिया बैंकले अब नगद रकम सोझै मेशिनबाट जम्मा गर्न सकिने क्यास रिसाइक्लर सेवा शुरु गरेको छ । बैंकले थालेको यो नवीन सेवा हो । यसमार्फत अब ग्राहकहरूले सहज रुपमा यस बैंकमा रहेको आफ्नो खातामा नगद रकम जम्मा गर्न सक्ने बैंकले जनाएको छ ।
यो सेवाअन्तर्गत बैंकमा गई कुनै भौतिक फारम विना ग्राहकहरूले आफ्नो डेबिट कार्ड वा खाता नम्बरको आधारमा मेशिनबाट सोझै रकम जम्मा गर्न सक्ने व्यवस्था रहेको बैंकको जानकारी दिएको छ । यस मेशिनबाट एक हजार र ५ सय दरका नोटहरू मात्र जम्मा गर्न मिल्ने व्यवस्था रहेकोमा एक जना ग्राहकको खातामा दैनिक अधिकतम ९९ हजार ५०० सम्म नगद जम्मा गर्न सकिने सीमा छ ।
यरी जम्मा गर्ने मेशिनबाट नगद बैंकको यस नयाँ सेवाबाट नगद जम्मा गर्नका लागि ग्राहकले क्यास रिसाइक्लर मेशिनमा डेबिट कार्ड राखेर एटीएम पिन कोड राखेपछि वा खाता नम्बर उल्लेख गरेपछि मेशिनमा रहेको रकम जम्मा गर्ने/राख्ने बक्स खुल्ने छ ।
उक्त बक्समा आफूले जम्मा गर्न चाहेको नगद रकम राखेपछि मेशिनले सो रकम गनेर खातामा तत्काल सहज रुपमा मौज्दात गरिदिने र त्यसको जानकारी समेत ग्राहकहरूले एसएमएस तथा रिसिप्टमार्फत प्राप्त गर्ने व्यवस्था बैंकले गरेको छ ।
बैंकले यो सेवा हालको लागि आफ्नो कर्पोरेट अफिस शाखा, थापाथलीमा सञ्चालन गरेको र यस सेवालाई निकट भविष्यमा देशका अन्य शाखाहरूमा समेत विस्तार गर्ने योेजना बनाइरहेको हुँदा नगद जम्मा गर्नकै लागि भौतिक फारम भरी बैंकको नगद काउन्टरमा लाइन लागेर जम्मा गर्नुपर्ने अवस्थाबाट ग्राहकहरूलाई मुक्ति मिल्ने बैंकले विश्वास लिएको छ । यस मेशिनबाट ग्राहकहरूले दैनिक रुपमा एटिएम मेशिनबाटझै सरल रुपमा नगद झिक्न समेत सक्ने व्यवस्था छ ।