Nic Ad Nic Ad
Nic Ad Nic Ad

वाणिज्य बैङ्कको निक्षेप सङ्कलन ९४ अर्बले बढ्यो

शुक्रबार, मंसिर ९, २०७९
काठमाडौँ– तरलताको अभाव रहेको भनिएका बैङ्क तथा वित्तीय संस्थामा पछिल्ला दिनमा उल्लेख्य सुधार देखिएको छ । वाणिज्य बैङ्कको निक्षेपमा सुधार देखिएपछि त्यसको प्रभाव पनि सकारात्मक परेको छ । गत जेठ महिनाको तुलनामा असार महिना लागेसँगै वाणिज्य बैङ्कको निक्षेप सङ्कलन रु ९४ अर्बले बढेको पाइएको छ । नेपाल बैंकर्स सङ्घका अनुसार गत जेठ महिनामा वाणिज्य बैङ्कको कूल निक्षेप रु ४४ खर्ब रहेकामा असार २४ गतेसम्म रु ४४ खर्ब ९४ अर्ब पुगेको हो । पछिल्लो समय निरन्तररुपमा घटेको निक्षेप असार महिना लागेसँगै केही सुधार देखिएको छ । सङ्घको तथ्याङ्कअनुसार असार पहिलो साता वाणिज्य बैङ्कको निक्षेप सङ्कलन (३ गते) रु ४३ खर्ब ९४ अर्ब, असार दोस्रो साता (१० गते) रु ४३ खर्ब ९८ अर्ब र असार तेस्रो साता (१७ गते) रु ४४ खर्ब ३२ अर्ब रहेको थियो । असार महिनामा निक्षेपमा सुधार आए पनि कर्जा लगानी भने घटेको छ । गत जेठ महिनाको तुलनामा असारको २४ गतेसम्म रु १९ अर्बले कर्जा लगानी घटेको हो । गत जेठ मसान्तसम्म कूल रु ४१ खर्ब ९३ अर्ब कर्जा लगानी गरेका बैङ्कले असार चौथो सातासम्म कूल रु ४१ खर्ब ७४ अर्बमात्रै कर्जा लगानी गरेका हुन् । यस्तै, एक सातामा वाणिज्य बैङ्कको कर्जामा रु दश अर्ब गिरावट देखिएको छ । असार १७ गतेसम्म रु ४१ खर्ब ८४ अर्ब कर्जा लगानी रहेकोमा असार २४ गतेसम्म रु ४१ खर्ब ७४ अर्ब पुगेको हो । यस्तै, वाणिज्य बैङ्कको कर्जा–निक्षेप अनुपात (सिडी रेसियो) पनि घट्दै गइरहेको छ । असार २४ गतेसम्म वाणिज्य बैङ्कको औसत सीडी रेसियो ८८।५७ प्रतिशत पुगेको हो । रासस
प्रकाशित मिति: शुक्रबार, मंसिर ९, २०७९  ०२:०७
प्रतिक्रिया दिनुहोस्