विश्वकप लिग टू : नेपाल आज स्कटल्याण्डसँग खेल्दै
काठमाडौँ– आईसीसी पुरुष विश्वकप लिग टू अन्तर्गतको त्रिकोणात्मक सिरिजका लागि स्कटल्याण्डमा रहेको नेपालले आज दोस्रो खेल खेल्दैछ ।
नेपालले सिरिजको दोस्रो खेलमा घरेलु टोली स्कटल्याण्डको सामना गर्नेछ । नेपाल र स्कटल्याण्डबीचको खेल नेपाली समय अनुसार दिउँसो ३:१५ बजे सुरु हुनेछ ।
नेपाल आज स्कटल्याण्डलाई हराउँदै सिरिजमा पहिलो जित निकाल्न चाहन्छ । तर, बलियो टोली स्कटल्याण्डलाई हराउँन नेपाललाई निकै सहज छैन ।
नेपाल पहिलो खेलमा नामिबियासँग ४० रनले पराजित भएको थियो ।
स्कटल्याण्ड भने लगातार दोस्रो जितको खोजीमा रहेको छ । पहिलो खेलमा स्कटल्याण्डले नामिबियालाई ७७ रनले हराएको थियो ।
लिग टू को अंक तालिकामा नेपाल १७ खेलमा १५ अंक जोडेर छैटौं स्थानमा रहेको छ । स्कटल्याण्ड २१ खेलमा ३० अंक जोडेर दोस्रो स्थानमा रहेको छ ।
सिरिज अन्तर्गत अब नेपालले तेस्रो खेलमा नामिबियाविरुद्ध शनिबार र अन्तिम खेलमा नेपालले स्कटल्याण्डविरुद्ध अर्को आइतबार खेल्नेछ ।