श्रीलंकामा संकटकाल घोषणा
काठमाडौँ– श्रीलंकामा संकटकाल घोषणा गरिएको छ । राजनीतिक अस्थिरता र अव्यवस्थाका बीच प्रधानमन्त्री रनिल विक्रमासिंघेले संकटकाल घोषणा गरेका हुन् ।
संकटकाल घोषणा गरिएको र श्रीलंकाको पश्चिमी प्रान्तमा कर्फ्यू आदेशसमेत लागू गरिएको प्रधानमन्त्री कार्यालयका प्रवक्ताले जानकारी दिएका हुन् ।
यसअघि, प्रधानमन्त्री विक्रमासिंघले सर्वदलीय सरकारबारे जोड दिँदै आफू राजीनामा दिन तयार रहेको बताएका थिए । यसैबीच, श्रीलंकाका राष्ट्रपति गोटाबाय राजपाक्षे देश छाडेर भागेका छन् ।
मंगलबार राति सेनाको विमानमार्फत उनी छिमेकी मुलुक माल्दिभ्सको राजधानी माले पुगेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले बताएका छन् । यसअघि राष्ट्रपति राजपाक्षेले १३ जुलाई अर्थात आज औपचारिक रुपमा राजीनामा घोषणा गर्ने बताएका थिए ।
यसक्रममा राजधानी कोलम्बोमा प्रदर्शनकारीहरुले आफूहरुको संघर्ष जारी रहेको र राष्ट्रपति तथा प्रधानमन्त्रीले राजीनामा दिनु पर्ने अडान लिएका छन् ।
प्रदर्शनकारीले गत शनिबार राष्ट्रपति निवास भवन परिसर भित्र प्रवेश गरी कब्जा गरेका छन् भने प्रधानमन्त्रीको सरकारी निवासमा आगजनी गरेका थिए ।