बेलायतमा मनाइयो भानुजयन्ती
लण्डन– बेलायतस्थित नेपालीहरूको जेठो साहित्यिक संस्था नेपाली साहित्य विकास परिषद् यूकेले २०९औँ भानु जयन्तीको अवसरमा विभिन्न कार्यक्रम आयोजना गरेको छ ।
वेस्ट लन्डन, एक्टनस्थित एबीआई कलेजमा आयोजित समारोहका प्रमख अतिथि तथा परिषद्का पदेन संरक्षकसमेत रहेका वेलायतका लागि नेपाली राजदूत ज्ञानचन्द्र आचार्यले नेपाली भाषा साहित्यको जागरण र सम्मान अभिबृद्धिमा आदिकवि भानुभक्त आचार्यको योगदान गहन रहेको बताए ।
उनले नेपाली साहित्य विकास परिषद्को विशिष्ट योगदान रइतिहास रहेको पनि बताए । पुस्तक विमोचन तथा पुरस्कार वितरण गर्दै राजदुत आचार्यले आफ्ना सिर्जनाद्वारा समाजलाई परिवर्तनतर्फ उन्मुख गराउने सर्जकहरूको सम्मान गर्न पाउँदा खुसी लागेको बताए ।
समारोहमा सम्मानित वरिष्ठ चलचित्र निर्देशक तथा सङ्गीतकार किरण प्रधानले बेलायतको माटोमा आफूले पहिलो नेपाली चलचित्र कस्तुरी बनाउँदाकाअनुभूति साट्दै कला, साहित्य र सङ्गीत क्षेत्रमा लागेका सर्जकहरूलाई एकठाउँमा भेला गरेर सम्मान गर्नु समाजमा प्रेरणा जगाउनु भएको बताए ।
समारोहमा आदिकवि भानुभक्त आचार्यको जीवनीबारे प्रकाश पार्दै परिषदका संस्थापक तथा निवर्तमान अध्यक्ष साहित्यकार सुरेशजङ्ग शाहले अविकसित समाज रहेको त्यो कालखण्डमा आदिकवि भानुभक्तले नेपाली भाषामा रामायणीय साहित्यको लहर चलाउनु आफैँमा एक साहासिक कदम भएको र जसले नेपाली साहित्यको यात्रा तथा सामाजको चेतना र एकता जागरण गर्न महत्वपूर्ण योगदान पुयाएको चर्चा गरे ।
समारोहमा विमोचन गरिएको पुस्तक थेम्स नदीका दूईकिनारा कवितासङ्ग्रहको समिक्षा गर्दै शाहले जीवन र जगतको अन्तर सम्वन्ध र सम्वेदनशीलताको प्रसङ्ग कवयत्री डा. सुधा श्रेष्ठले कविताहरूमा मार्मिकरूपले उठाएको बताए ।
कार्यक्रमका सभापति परिषदका अध्यक्ष तथा कवि कोमलप्रसाद श्रेष्ठ मल्लले परिषदले स्थापनाकाल सन् १९९५ देखि नै बेलायतमा भानु जयन्ती मनाउँदैआएको चर्चा गर्दै नेपाल र नेपालीको पहिचान युगयुगसम्म जिवन्त राख्न हाम्रा भाषा साहित्य संस्कृति चिनारीहरू जोगाउँदै लैजानुपर्नेमा जोड दिए ।
कार्यक्रममा डा. सुधा श्रेष्ठको पुस्तक थेम्स नदीका दूई किनारा विमोचन गरिएको थियो । कृतिमाथि कार्यक्रममा अतिथीहरूले आफ्नो धारणा राखेका थिए ।
समारोहमा विमोचित आफनो पुस्तक थेम्स नदीका दुई किनाराबारे कवि तथा परिषद्की उपाध्यक्ष डा.सुधा श्रेष्ठले पुस्तकमा सङ्ग्रहित कविताहरू जीवन र जगतकोअन्तरघुलनमा नया सोच र प्रेरणाको जागरण हुनुपर्ने र आज देशले भोग्नुपरेका विकृत राजनीतिबाट उब्जनी भएका पीडाबाट उन्मुक्ति खोजेको बताइन् ।
परिषद्का महासचिव वीरेन्द्र कुँवरले नेपाली साहित्यका सर्जक र सिर्जनाहरू बेलायती माटोमा उमार्ने काम साढे दुई दशकभन्दा बढी समयदेखि परिषदले गर्दैआएको चर्चा गरे । आदिकवि भानुभक्त आचार्यको तस्बिरमा माल्यापर्ण र राष्ट्रीय गानबाट आरम्भ भएको समारोहमा परिषद्का पूर्व अध्यक्ष कवि हरिसिँह थापाले भानुभक्तीय रामायणका श्लोक वाचन गरेका थिए ।
कार्यक्रममा राजदूत आचार्यले साढे दुई दशकभन्दा बढी समयदेखि बेलायतमा नेपाली साहित्यको समृद्धिमा निरन्तर योगदान पुर्याएकोमा कवि तथा कलाकाररहरू हिन्दमैया बैद्य, प्रमोद शर्मा, कृष्ण भट्ट, लक्ष्मी राई (लारा राई), केदार साङ्केतलगायत सर्जकलाई विभिन्न पुरस्कार र सम्मान अर्पण गरिएको थियो ।