नेपाललाई विश्व बैंकले दियो १० अर्ब ऋण
काठमाडौँ - विश्व बैंकले नेपाललाई खानेपानी तथा सरसफाइ सेवा सुधारका लागि ८ करोड अमेरिकी डलर (करिब १० अर्ब नेपाली रूपैयाँ) बराबर ऋण सहयोग गरेको छ ।
खानेपानी र सरसफाइ सेवाको वितरणमा सुधार गर्न तथा एकीकृत जलस्रोत व्यवस्थापनको प्रवर्द्धनमा मद्दत गर्न विश्व बैंक र नेपाल सरकार बीच बुधबार सहुलियतपूर्ण ऋण सम्झौतामा हस्ताक्षर भएको हो । सम्झौतामा नेपाल सरकारको तर्फबाट अर्थ मन्त्रालयका सचिव मधुकुमार मरासिनी र मल्दिभ्स, नेपाल र श्रीलंकाका लागि विश्व बैंकका राष्ट्रिय निर्देशक फारिस हदाद-जर्भोसले हस्ताक्षर गरेका छन् ।
नेपालको संविधानमा उल्लेखित संघीयताका सिद्धान्त अनुरूप दीगो र समावेशी वृद्धि हासिल गर्ने उद्देश्य अनुसार आयोजनाले अति आवश्यक खानेपानी आपूर्ति र सरसफाइ सेवाहरू उपलब्ध गराउने मन्त्रालयका सचिव मरासिनीले बताएका छन् । उनले अति जोखिममा परेका समुदायलाई पानी क्षेत्रको राम्रो समन्वय सुनिश्चित गर्न र उच्च पानीको गुणस्तर र सेवाको स्तरलाई प्रवर्द्धन गर्न मद्दत गर्ने समेत बताए ।
खानेपानी क्षेत्र सुशासन तथा पूर्वाधार सहयोग आयोजना कणर्ाली र सुदूरपश्चिम प्रदेशका नगर र गाउँपालिकामा कार्यान्वयन गरिनेछ । यी दुवै प्रदेशमा खानेपानी आपूर्ति र सरसफाइ सेवाहरूको पहुँच न्यून हुनु, गरिबी उच्च हुनुका साथै यी प्रदेशहरू जलवायु परिवर्तनको समेत जोखिममा छन् ।
यस आयोजनाले नगरपालिकाको क्षमता अभिवृद्धि गरी स्थानीय तहमा खानेपानी र सरसफाइ सेवाको आपूर्तिलाई सुदृढ गर्न मद्दत गर्ने माल्दिभ्स, नेपाल र श्रीलंकाका लागि विश्व बैंकका राष्ट्रिय निर्देशक फारिस हदाद-जर्भोसले बताए । उनले नेपालको आर्थिक प्रगति र हरित, उत्थानशील तथा समावेशी विकास हासिल गर्नमा खानेपानी र सरसफाइ पूर्वाधारमा रहेको महत्वपूणर् कमीलाई समेत सम्बोधन गर्ने उल्लेख गरे । यस आयोजनाले उक्त दुई प्रदेशका स्थानीय सरकारहरूलाई खानेपानी र सरसफाइ सेवाहरू दीगो र प्रभावकारी रूपमा उपलब्ध गराउन सक्षम संयन्त्रहरू विकास गर्न मद्दत गर्ने विश्व बैंकले जनाएको छ ।