Nic Ad Nic Ad
Nic Ad Nic Ad

एनआरएन क्यानडाद्वारा नेपाली विद्यार्थीलाई स्वागत 

शुक्रबार, मंसिर ९, २०७९
क्यानडा– गैरआवासीय नेपाली संघ  क्यानडाले नेपाल देखि क्यानडा पढ्न आएका विद्यार्थीलाई स्वागत गरेको छ ।  एनआरएन क्यानडाले पुर्व क्षेत्र तथा मध्य क्षेत्र हेल्प डेस्कले आयोजना गरेको न्युकमर्स स्वागत तथा  बारविक्यु एवं सूचना आदान प्रदान कार्यक्रम सम्पन्न गरेको हो ।  जुन २६ मा स्कारबोरो तथा गत शनिवार न्युरो पार्क मिसिसागामा सम्पन्न भएको छ। कार्यक्रममा बरिष्ठ लोक गायक एवं कार्यक्रमका प्रमुख अतिथि पुरुषोत्तम न्यौपानेले नयाँ आप्रवासीले नेपाली समुदायसँग चिनाजानी बढाई सहज जीवनयापनमा सहयोग पुर्याउन कार्यक्रम सफल हुने बताए । यस्ता कार्यक्रमहरूलाई निरन्तरता दिन गैरआवासीय नेपाली संघ क्यानडालाई सुझाव दिए । गैर आवासीय  नेपाली संघका सचिव चिरञ्जीवी घिमिरेले नागरिकता निरन्तरताको अहिले नेपाल सरकारबाट र संघबाट भएका प्रयासहरू तथा प्रतिनिधि सभामा विधेयक दर्ता भएको जानकारी गराएका थिए ।  घिमिरेले कोभिडको समयमा करिब  ५०० अन्तराष्ट्रिय विद्यार्थीहरूलाई भेटघाट गरि अभिभावकको भूमिका निर्वाह गरेको र अहिले पनि एन आर एन क्यानडाले भेटघाटलाई निरन्तरता दिएकोमा आभार व्यक्त गरे। क्यानडामा बस्ने नेपालीहरू अत्यन्त उदाहरणीय र सहयोगी भएको हुनाले आवश्यक परे सबै एकजुट भई  कुनै पनि किसिमको सहयोग गर्न अग्रपङ्तिमा रहेको जानकारी पनि दिए। यस्तै, गैरआवासीय नेपाली संघ क्यानडाका अध्यक्ष दीपक गौतमले नयाँ आप्रवासी एवं अन्तराष्ट्रिय नेपाली विद्यार्थीहरूलाई प्राथमिकतामा राखेर गैरआवासीय नेपाली संघ क्यानडाले काम गरिरहेको जानकारी दिए । क्यानडामा विद्यार्थीका समस्या दिनानुदिन बढिरहेको तर्फ चिन्ता व्यक्त गर्दै  क्यानडामा रहेका सबै संघ संस्था तथा नेपाली समुदायलाई सहयोगका लागी आग्रह गरे। कार्यक्रमबारे प्रकाश पार्दै गैरआवासीय नेपाली संघ क्यानडाका उपाध्यक्ष एवं न्युकमर्स एन्ड इमिग्रेसन समितिका संयोजक संगीता जिसीले सीमित श्रोत साधनका बावजुत पनि गैरआवासीय नेपाली संघ क्यानडाले नयाँ आप्रवासी एवं विद्यार्थीहरूका लागी बारविक्यु तथा इन्फरमेसन सेसन सञ्चालन गर्ने योजना रहेका भन्दै कार्यक्रममा बढीभन्दा बढी सहभागी भइ सेवा लिन आग्रह गरे।  उपस्थित सबैलाई स्वागत गर्दै गैरआवासीय नेपाली संघ क्यानडाका मध्यक्षेत्र हेल्प डेस्क संयोजक सुशान्त रावतले हेल्प डेस्क सहयोगका लागि स्थापना गरिएको भन्दै नयाँ आप्रवासी एवं विद्यार्थीहरूको सहयोगका लागी हरसमय तयार रहेको जानकारी दिए ।  कार्यक्रममा नयाँ विद्यार्थीहरूको तर्फबाट खगेन्द्र कँडेलले कतिपय अवस्थामा नेपाली घरधुरीहरूले समेत विद्यार्थीलाई सम्मानपूर्ण व्यावहार नगरेको भन्दै सुरुवाती अवस्थामा सहयोग अपेक्षा रहने बताए ।  त्यस्तै नयाँ आप्रवासी गोपाल पौडेलले गैरआवासीय नेपाली संघ क्यानडाको यो पहलले नयाँ आप्रवासीमा उत्साह थपेको भन्दै आउँदा दिनमा नेपाली अभिभावकले निर्धक्क आफ्ना सन्ततिलाई क्यानडा पठाउन सक्ने बनाउन सबैमा आग्रह गरे।  कार्यक्रममा गैरअवासीय नेपाली संघ क्यानडाका पूर्व अनररी काउन्सिल मेम्वर ढुण्डी पाण्डे, नेपाली जनसम्पर्क समिति क्यानडाका सभापति बुद्धी प्रकास ओली, माउन्ट एभरेष्ट टेलिभिजनका प्रोपाइटर बसन्त कार्की, अटोवामा सम्पन्न राष्ट्रिय फुटबल प्रतियोगितामा एनआरएनए क्यानडाको टिमका क्याप्टेन निरज कंडेल लगायतले नयाँ आप्रवासी केन्द्रित कार्यक्रमको प्रसंसा गरे ।  त्यस्तै कार्यक्रममा गैरआवासीय नेपाली संघ आइसीसी सदस्य सन्तराज भन्डारी, गैरआवासीय नेपाली संघ क्यानडाका पूर्व अध्यक्ष अनिल थापा, गैरआवासीय नेपाली संघ क्यानडाका स्वास्थ्य समिति सदस्य, पार्वति पाण्डे, मेम्वरसिप समिति सदस्य ऐश्वर्या राई, खेलकुद समिति सदस्य कृष्णमान चित्रकार, समाजसेवी ध्रुव भट्टराई, नेपलिज क्रिकेट क्लव क्यानडाका सल्लाहकार शरद पौडेल, नेपलिज क्यानेडियन विजनेस काउन्सिलका अध्यक्ष पुर्ण कंडेल, होमलाइफ २४७ का अमृता शाह, रियल्टर हेमराज पाण्डे, रिगम्यक्स का रिषिराम गैरे, माउन्ट एभरेष्ट टेलिभिजनका सुमन पौडेल, गैरआवासीय नेपाली संघ क्यानडाका सदस्य पिताम्वर भट्राई एवँ विशाल घिमिरे, पूर्व युवा कोआर्डिनेटर क्रिजल केसी लगायतको उपस्थिति रहेको थियो ।  त्यस्तै कार्यक्रममा लोक गायक पुरुषोत्तम न्यौपानेका साथै युवा गायक इनुस गिरी र गायिका रिता बुर्लाकोटीले गित मार्फत मनोरन्जन प्रदान गरेका थिए।  
प्रकाशित मिति: शुक्रबार, मंसिर ९, २०७९  ०७:०३
प्रतिक्रिया दिनुहोस्