भारी वर्षा र बाढीले भारतका विभिन्न राज्यको जनजीवन प्रभावित
काठमाडौँ– भारी वर्षा र बाढीका कारण भारतका विभिन्न राज्यको जनजीवन प्रभावित भएको छ । वर्षा र बाढीले सबैभन्दा बढी असाम, महाराष्ट्र र गुजरात प्रभावित भएका छन् ।
बाढी प्रभावित क्षेत्रका मानिसहरुको दैनिक जीवन कष्टकर बनेको छ । शुक्रबार असाममा बाढीले थप प्रभाव पारेको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । असामका सरकारी अधिकारीका अनुसार शुक्रबार बाढीका कारण थप एक जनाको मृत्यु भएको छ । योसँगै बाढी तथा पहिरोमा परी मृत्यु हुनेको संख्या १९४ पुगेको छ ।
समाचार संस्था पीटीआईका अनुसार असाममा २ लाख १० हजार मानिस अझै पनि बाढीको चपेटामा परेका छन् ।
यस्तै महाराष्ट्रमा लगातारको वर्षाले नदीहरुमा पानीको बहाव ह्वात्तै बढेको छ । पुललाई समेत नाघेर पानी बगिरहेको छ । पालघर जिल्लाका थुप्रै सडकहरु बन्द गरिएका छन् । ठाणे जिल्लामा भातसा नदी किनारमा बसोबास गर्ने मानिसहरुलाई प्रशासनले सतर्कता अपनाउन आग्रह गरेको छ ।
यसैगरी गुजरातको दक्षिण तथा सौराष्ट्रका अधिकांश क्षेत्रमा केही दिनदेखि भारी वर्षा भइरहेको छ । नवसारी जिल्लाका ८११ जना मानिसलाई सुरक्षित स्थानमा सारिएको छ ।
आन्द्र प्रदेशको गोदावरी नदीमा पानीको सतह लगातार खतराको संकेतभन्दा माथि भएर बगिरहेको छ । उक्त प्रदेशका ६२ हजारभन्दा बढी मानिसलाई बाढी प्रभावित क्षेत्रबाट सुरक्षित स्थानमा सारिएको छ ।
प्रदेशका मुख्यमन्त्री वाईएस जगन मोहन रेड्डीले शुक्रबार गोदावरी बाढी प्रभावित क्षेत्रको हवाई निरीक्षण गरेका थिए ।