प्रदीप खड्का भन्छन्–निर्देशकको आत्मविश्वासले काम गर्न हिम्मत जुटाएँ (भिडियोसहित)
काठमाडौं–आगामी भदौ १० गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘प्रकाश’मा अभिनेता प्रदीप खड्का जुम्ली युवाको भूमिकामा देखिँदैछन् । शिक्षक बन्न संघर्षरत युवाको भूमिकामा देखिएका प्रदीपले फिल्मका लागि निकै मेहनत गरेका छन् । फिल्म प्रमोसनका लागि लेखक विकास सुवेदीसँग चितवन पुगेका प्रदीपले स्थानीय पत्रकारसँग फिल्मबारे गरेको मेहनतका विषयमा खुलेर सुनाए ।
निर्देशकको आत्मविश्वासले हिम्मत दियो
फिल्मको अवधारणा सुनेर म काम गर्न तयार भए पनि स्क्रिप्ट पढेपछि जुम्लेली भाषा बोल्नुपर्ने, जुम्लाकै जस्तो क्यारेक्टर हुनुपर्ने भएकाले ममा कतै काम गर्न नसक्ने हो कि भन्ने भित्री डर थियो । आफूलाई फेल हुने डर नभएपनि सोचे जस्तो काम गर्न नसके हो कि भनेर निर्देशक दिनेश राउतसँग ‘काम नगरुँ कि’ भनेर सल्लाह लिएँ । तर, ममाथि निर्देशकको आत्मविश्वासले काम गर्न हिम्मत जुटाएँ ।
प्रकाशले अभिनेता बनाउनेछ
६ वर्षयता फिल्ममा काम गरिरहँदा दर्शकले अथवा समीक्षकले ‘मलाई गुदी नभएको उत्पादन मात्र भयो’ भन्ने कुरा सुनाए । फिल्म खेल्न कसैले तिमी हिरो बन्छौ भन्दा ओहो म पनि हिरो बन्छु र भन्ने सोच भएको मान्छेलाई कस्तो फिल्म खेल्नुपर्छ भन्ने कहिल्यै थाहा नै भएन । त्यहीकारण मेरो फिल्म हेरिरहेका दर्शकभन्दा बाहिर रहेका दर्शकलाई पनि तान्नुपर्छ भन्ने लाग्यो । मेरो बुझाईमा मैले रिलिज भएका फिल्मसम्म आफूलाई ‘हिरो’ बन्न गरेको एउटा अभ्यास मानें । तर ‘प्रकाश’ले मलाई अभिनेता बनाउनेमा म ढुक्क छु ।
तौल घटाउन हिडाई
फिल्मका लागि मैले तौल घटाउनुपर्ने थियो । फिल्ममा मैले गाउँमा खेतीबाली गरेको युवकको भूमिकामा देखिनुपर्ने थियो । जसको शरीर ‘स्टिल बडी’को जस्तो हुनुपथ्र्यो । मलाई सधैं म अलग–अलग क्यारेक्टर नै गरिरहेको छु भन्ने लाग्थ्यो । मनमा देख्नले किन देखिरहेको छैन भन्ने भइरहेको थियो । तर त्यो भ्रम रहेछ । अनुप बराल सरसँग अभिनयको कक्षा लिएपछि मलाई के महशुस भयो भने म गायक, पुलिस, डाक्टर बने पनि मेरो रियल प्रदीप जे हो म त्यही नै गरिरहेको छु । आफ्नो पुरानो हाउभाउबाट कहिल्यै बाहिर जान नसकेको कारण थाहा पाएपछि यसलाई परिवर्तन गर्न हिँड्ने शैली, बोल्ने शैलीमा परिवर्तन गर्नुपर्नेरहेछ भन्ने लाग्यो । त्यसपछि घरदेखि वर्कसपसम्म र वर्कसपदेखि जिमसम्म हिँडेरै जाने निर्णय लिएँ । अनुप सरले पनि यो कुरालाई स्वीकार्नुभयो । मेरा लागि यो निर्णय स्वास्थ्यसँगै चरित्रको फाइदाका लागि थियो । मिडियामा आएजस्तो म पूर्ण रुपमा खाली खुट्टा हिँडेको होइन । कुनैबेला खाली खुट्टा हिँड्थे । फिल्मको कथाअनुसार गाउँको दृश्यमा खाली खुट्टा पनि देखिनुपर्ने हुन्छ । त्यसको पनि अनुभव गर्नुपर्ने हुन्छ भनेपछि बाटोमा ट्रायल स्वरुप अलग– अलग तरिकाले हिँडे ।
नेपालीपनको विचार बोकेर हलिउड
मेरो बुझाई विचारले कोही मान्छे तपाईंको साथी वा दुश्मन बन्छ । तपाईंको विचार मनपराउने मान्छेहरु साथी हुन्छन्, मन नपराउने दुश्मन । मान्छेले मलाई बाहिरी आवरणले मनपराए भने त्यो क्षणिक हो । तर मेरो विचार, म के हो भन्ने कुरा मनपराए भने त्यो लामो समयसम्म हो । मलाई मेरो अनुहारले म धेरै समयसम्म कसैको मनमा बस्नसक्छु जस्तो लागेन । यस्ता पात्रमा आधारित फिल्मबाट मेरो विचार, समाजप्रतिको सोच देखियोस् भन्ने हो । जसले गर्दा हलिउड नै पुगे भनें पनि नेपालीपन लिएर पुग्ने सोच हो । त्यसमा विचार प्रमुख कुरा हो ।
एक महिनाले देखाउनेछ मेरो लोकप्रियता
एक महिनाको अन्तरमा मेरो अभिनय रहेको फिल्म ‘प्रकाश’ र प्रेमगीत ३’ प्रदर्शनमा आउँदैछन् । यी फिल्मको कुरा गर्दा म एउटा फिल्ममा राजा चरित्रमा र अर्कोमा रैती चरित्रमा छु । यी दुवै चरित्रलाई दर्शकले रुचाउनुभयो भने त्यो मेरो लागि खुशीको कुरा हो । मेरो रेञ्ज देखिने त्यही बेला हो । अर्थात् मेरो लोकप्रियता त्यसले नै मापन गर्छ ।
ग्रसको रेकर्ड तोड्छ
‘प्रकाश’ले मेरा ६ फिल्मका ग्रस रेकर्ड तोड्नेछ । अनि ‘प्रेमगीत ३’ले चाहिँ ‘कबड्डी ४’को रेकर्डलाई ब्रेक गर्नेछ ।
https://www.youtube.com/watch?v=XBcYtQsfPyY
प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९ १३:३१
प्रतिक्रिया दिनुहोस्