अबको तीन दिन भारी वर्षा हुने
काठमाडौँ– हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान आसपासमा रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
अहिले बिहान देशभर आंशिकदेखि सामान्य बदली रही प्रदेश १, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।
महाशाखाका अनुसार आज दिउँसो देशका धेरै स्थानहरुमा मेघ गर्जन/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । गण्डकी र लुम्बिनी प्रदेशका एक वा दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ।
आज राति देशका केही स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक वा दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ।
महाशाखाले भोलि बुधबार देशको पहाडी भू-भागका धेरै स्थानहरूमा र अन्य भू-भागका केही स्थानहरूमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको जनाएको छ । सुदूरपश्चिम, लुम्बिनी, गण्डकी र बागमती प्रदेशका थोरै स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको छ ।
यस्तै पर्सि (बिहीबार) पनि लुम्बिनी, गण्डकी र बागमती प्रदेशका थोरै स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको छ ।