बेलायतमा प्रधानमन्त्रीको दौडः चौथो चरणमा पनि ऋषि सुनक अगाडी
काठमाडौँ । बेलायतको प्रधानमन्त्री तथा कन्जरभेटिभ पार्टीको नेताको दौडमा चौथो चरणको मतदानपछि पनि ऋषि सुनकले आफ्नो अग्रता कायम राखेका छन् ।
मंगलबार कन्जरभेटिभ पार्टीको नयाँ नेता छान्नका लागि सांसदहरूबीच भएको चौथो चरणको मतदानमा पनि सुनक पहिलो स्थानमा रहेका हुन् ।
योसँगै सांसद क्यामी बडेनोक भने यो दौडबाट बाहिरिएकी छन् । पूर्वअर्थमन्त्री ऋषि सुनकबाहेक दोस्रो नम्बरमा व्यापारमन्त्री पेनी मोर्डेन्ट, तेस्रो नम्बरमा परराष्ट्रमन्त्री लिज ट्रस रहेकी छन् ।
यसअघि भएको तेस्रो चरणको मतदानमा पहिलो चार उम्मेदवार यिनै नै थिए । ऋषि सुनकले चौथो चरणमा ११८ मत प्राप्त गरेर भने पेनी मोर्डेन्ट ९२ मतसहित दोस्रो, लिज ट्रस ८६ मतसहित तेस्रो स्थानमा रहेकी छन् । त्यस्तै दौडबाट बाहिरिएकी क्यामी बडेनोकले ५९ मत प्राप्त गरेकी थिइन् ।
बाँकी तीन उम्मेदवारका लागि बुधबार पुनः मतदान हुनेछ । प्रधानमन्त्रीको दौडमा रहने दुई उम्मेदवारको टुंगो लागेपछि कन्जरभेटिभ पार्टीका एक लाख ६० हजार सदस्यहरूले हुलाक भोटबाट पार्टीको नेता चयन गर्नेछन्। बेलायतमा, विजयी उम्मेद्वारले पार्टीको नेता र प्रधानमन्त्रीको पद धारण गर्दछ । नेता चयनको घोषणा सेप्टेम्बर ५ मा हुने तालिका रहेको छ ।