Nic Ad Nic Ad
Nic Ad Nic Ad

वृक्षारोपण र सामुहिक खाना खुवाएर मनाए अभिनेता पुष्प खड्काले जन्मदिन

बिहीबार, मंसिर ८, २०७९
काठमाडौँ–  अभिनेता पुष्प खड्काले आफ्नो  ३१ औं जन्मदिन काठमाडौँको शंखमुलमा वृक्षारोपण गरेर मनाएका छन् । वृक्षारोपणपछि पुष्प ओम साइराम मन्दिर पुगेर त्यहाँ रहेका विपन्न र घरबार बिहीन नागरिकलाई सामुहिक भोजनको व्यवस्था गरे । विश्वब्यापी तापमानमा भइरहेको वृद्धि र जलवायु परिवर्तनका कारण पनि वृक्षारोपणको महत्व अझै बढेर गएकाले आफ्नो जन्मदिनको दिन केही विरुवा रोपेको उनले बताए । प्रकृति संरक्षणमा सबैजना लाग्नुपर्ने उनको भनाइ छ । उनले दर्पणछाँया–२, मंगलम्, मारुनीलगायतका सिनेमाहरुमा अभिनय गरिसकेका पुष्प झन्डै २ हजार म्युजिक भिडियोमा अभिनय गरेका छन् । मंगलम् फिल्मबाट उनले २०७४ सालमा उत्कृष्ट अभिनेतातर्फ राष्ट्रिय अवार्ड जितेका थिए । कैलालीको लम्किचुहा नगरपालिकामा जन्मिएका पुष्पले जन्मदिनमा आमा–बाबुलाई सम्झिएको बताए । ‘मम्मी र र बुबालाई बर्थ डे केक खुवाउने सौभाग्य अझै मिलेको छैन, यसपाला पनि म यहाँ र मम्मी–बुबा गाउँमा हुनुहुन्छ ,’ उनले भने,‘ सानो छँदा हाम्रो गाउँघरमा केक काट्ने कल्चर थिएन । कलेज पढ्दा बल्ल साथीहरुले केक काटेको देखेँ । कलेज सकिएपछि म काठमाडौं आएँ, त्यहीकारण रहर हुँदाहुँदै पनि आमा–बुबासँग केक काटेर जन्मदिन मनाउन पाएको छैन । तर, उहाँहरुको साथ, हौसला र आर्शिवाद सधैं पाएकाले धन्य महसुस गरेको छु ।’ पुष्पले आजै ‘कृष्ण लिला’ फिल्म युनिटसँगै बसेर बर्थ डे केक काट्दैछन् । संयोगवस्, आजै ‘कृष्ण लिला’ का निर्देशक दीपक ओलीको पनि जन्मदिन परेको छ । त्यो पहिलो केक पुष्प यतिबेला आफ्नो पहिलो म्युजिक भिडियो गर्दै थिए । हेमन्त शर्माको ‘के माया गर्नु हुन्न र’ बोलको उक्त भिडियोको निर्देशन आलोक नेम्वाङले गरिरहेका थिए ।  ‘‘ह्याप्पी बर्थ डे टु मी,’ पुष्पले फेसबुकमा यस्तो स्ट्याटस लेख्नासाथ निर्देशक आलोक नेम्वाङले फोन गरेर शुभकामना दिए । ‘जन्मदिनको प्लान के छ ?’ आलोकको प्रश्न थियो । ‘खास त्यस्तो केही छैन सर,’ पुष्पले जवाफ दिए । आलोकले दिउँसो कुनै रेस्टुरेन्टमा पुगेर खाजा खाने प्लान बनाए । मोडल अनिल थापा र पुष्प रेस्टुरेन्टमा पुगेपछि आलोकले केक काटेर सरप्राइज दिए । पुष्पलाई फिल्ममा डेब्यु गराउने श्रेय पनि आलोकलाई नै जान्छ । ‘अझै पनि’ फिल्ममार्फत पुष्पले ठूलो पर्दामा इन्ट्री गरेका हुन् । ‘संघर्षका दिनमा उहाँले मलाई निकै सहयोग गर्नुभयो । तिमीले कोठा भाडा तिर्‍यौ  कि छैन । गाडी भाडा तिर्न पैसा छ कि छैन भनेर पनि सोध्नुहुन्थ्यो’ पुष्पले संझिए,‘आज म उभिएको बेला उहाँ यो संसारमा हुनुहुन्न । मलाई निकै दुख लाग्छ । उहाँ कसैलाई नबिझाउने व्यक्ति, प्रकृति, मानिस र जनावर सबैलाई समान प्रेम गर्नुहुन्थ्यों ।’ निर्देशक नेम्वाङको कात्तिक २०७१ मा निधन भएको थियो ।  
प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९  २०:३०
प्रतिक्रिया दिनुहोस्