निर्देशक दिनेश राउतः जिद्दी कि क्रान्तिकारी ?
काठमाडौं–आगामी भदौ १० गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘प्रकाश’को ट्रेलर सार्वजनिक भएपछि ट्रेलरले राम्रो तारिफ पाइरहेको छ । खास गरी फिल्मका प्रमुख अभिनेता प्रदीप खड्कालाई उनले हालसम्म अभिनय गरेका फिल्ममा भन्दा फरक रुपमा प्रस्तुत गरिएकाले पनि आम फिल्मकर्मीसँगै दर्शकमाझ चासो उत्तिकै छ ।
फिल्ममा निर्देशक दिनेश राउतको निर्देशन छ । ‘नोभेम्बर रेन’, ‘क्लासिक’ जस्ता व्यावसायिक रुपमा सफल प्रेमकथाका फिल्म निर्देशन गरिसकेका दिनेशले पछिल्लोपटक अभिनेता विपिन कार्की र अभिनेत्री नम्रता श्रेष्ठ स्टारर फिल्म ‘प्रसाद’ निर्देशन गरेका थिए । यो फिल्म बक्सअफिसमा सफल फिल्मका रुपमा साबित भएको थियो ।
गत मंगलबार राजधानीमा फिल्मको ट्रेलर सार्वजनिक कार्यक्रममा दिनेशलाई फिल्मकी अभिनेत्री दिया मास्केले ‘जिद्दी’ र नवअभिनेत्री रेणु योगीले ‘क्रान्तिकारी’को संज्ञा दिए । तर यो संज्ञा दिइरहँदा उनीहरुले त्यसलाई प्रष्ट्याएका पनि थिए ।
‘उहाँ मैले काम गरेका निर्देशकभन्दा सबैभन्दा ‘जिद्दी’ निर्देशक हो । उहाँलाई के चाहिन्छ, त्यही मात्र चाहिन्छ र त्यो निकाल्नु हुन्छ । त्यसबेला उहाँले कलाकारको स्टारडम केही हेर्नुहुन्न । उहाँले मात्र चरित्र र फिल्म देख्नुहुन्छ । जुन एकदमै राम्रो कुरा हो । मैले उहाँले सोचेको सीता चरित्रलाई न्याय गर्न सकेँ वा सकिनँ थाहा छैन, तर यो मेरो लागि एकदमै यादगार यात्रा रह्यो,’ दीयाले भनिन् । दियाले ‘प्रकाश’मा पनि जुम्लाको विपन्न महिलाको भूमिका निर्वाह गरेकी छन् ।
अर्की अभिनेत्री रेणुका अनुसार उनको नजरमा निर्देशक दिनेश ‘क्रान्तिकारी’ हुन् । ‘मलाई दिनेश राउत सर क्रान्तिकारी नै लाग्छ । सुटिङमा उहाँले हामीजस्तो नयाँ कलाकारलाई सिकाइरहँदा ‘ल क्रान्ति गर्न हिँड्नुपर्छ है’ भने जस्तो लाग्थ्यो’, उनले भनिन्, ‘नयाँ कलाकारका लागि त्यो बन्नु पनि जरुरी छ किनभने कसैको सल्लाह तथा मार्गनिर्देशन बिना काम गर्न असम्भव नै हुन्छ ।’
फिल्ममा राजन खतिवडा, प्रकाश घिमिरे, देवकुमार श्रेष्ठ, हुम बिसी, प्रशान्त श्रेष्ठ, पवित्रा खड्का, लोकेन्द्र लेखक, निरज पन्थीलगायतका कलाकारको अभिनय छ । फिल्मका निर्माता महेन्द्र अधिकारी हुन् ।
प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९ ०२:१२
प्रतिक्रिया दिनुहोस्