वियोगान्त भावको कालीमा रामकृष्ण र नम्रता
काठमाडौं— गायक रामकृष्ण ढकालको स्वरमा रहेको ‘काली’ बोलको गीतको म्यूजिक भिडियो सार्वजनिक भएको छ । बिहीवार राजधानीमा आयोजित एक कार्यक्रमका बीच सार्वजनिक गरिएको गीत वियोगान्त भावको छ । दीपक शर्माको संगीत र चिन्तामणी शिवाकोटीको शब्द रहेको गीतका एरेन्जर पुरुषोत्तम सुवेदी हुन् ।
सुब्रतराज आचार्यले निर्देशन गरेको गीतको भिडियोमा गायक ढकाल स्वयं फिचर छन् भने नम्रता सापकोटा, दिपेश ढकाल र दिपेन गौतम माइकलको पनि अभिनय छ । भिडियोमा नम्रताले प्रेमलाई हलुका रुपमा लिएको पात्रको रुपमा प्रस्तुत छिन् । अगाध माया गरेको मान्छेले धोका दिँदा मनमा उत्पन्न भावलाई गीतमार्फत व्यक्त गरिएको छ ।
गीतको भिडियोमा जया शर्मा क्रियटिभ डाइरेक्टर, उत्सव दाहालको छायांकन, विकास दाहालको सम्पादन र कलर र साइव्रत आचार्यको स्टोरी बोर्ड रहेको छ । गीत सार्वजनिक कार्यक्रममा गायक ढकालले अडियोअनुसार भिडियो तयार भएकोमा खुशी व्यक्त गरे । यो गीतका शब्दले दर्शकको मनछुने उनको विश्वास छ । उनले भने, ‘मलाई गीतको शब्द सुन्दा नै मन परेको थियो । संगीत उस्तै मीठो सृजना भयो । भिडियोले गीतमा थप सुनमा सुगन्ध थपेको छ ।’
गीतकार शिवाकोटीले भने विगतमा आफूलाई दुःख, झमेला दिने पात्रहरुलाई सम्झिएर गीत लेखेको बताउँदै भिडियो हेर्दा आनन्द महशुस भएको बताए । संगीतकार शर्माले गीतमा रामकृष्ण ढकालसँग सहकार्य गर्न पाएकोमा खुशी व्यक्त गरे ।
निर्देशक आचार्यले भिडियो राम्रो बन्न अडियो बलियो हुनुपर्ने तर्क राख्दै ‘काली’ गीतलाई न्याय गर्ने भिडियोमा कुनै कसर नछाडेको बताए । त्यस्तै, अभिनेत्री सापकोटाले भिडियोमा काम गर्दा रमाइलो भएको अनुभव साट्दै धेरैपछि फरक खालको पात्रमा अभिनय गर्न पाएको खुशी व्यक्त गरिन् ।
https://www.youtube.com/watch?v=Cq2M9FlgC1M
प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९ २३:५८
प्रतिक्रिया दिनुहोस्