नयाँ हवाई प्रवेश विन्दु उपलब्ध गराउन भारतीय राजदूतसँग पर्यटनमन्त्री श्रेष्ठको आग्रह
काठमाडौं - पर्यटनमन्त्री जीवनराम श्रेष्ठसँग नेपालका लागि भारतका राजदूत नवीन श्रीवास्तवले भेटवार्ता गरेका छन् । आज मन्त्रालयमा भएको भेटमा उनीहरुबीच दुई देशबीचको सम्बन्ध र सहकार्यका विविध पक्षमा कुराकानी भएको छ ।
मन्त्री श्रेष्ठले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण क्षमतामा सञ्चालनका लागि नयाँ हवाई प्रवेश विन्दु उपलब्ध गराउन प्रस्ताव गरे। नयाँ हवाई प्रवेश विन्दु उपलब्ध भएमा उडान खर्च र समय घट्नुका साथै हवाई ट्राफिक जामको समस्या समाधान हुने मन्त्री श्रेष्ठको भनाइ छ । राजदूत श्रीवास्तवले नयाँ हवाई प्रवेश विन्दुको विषयमा छिट्टै निणर्यमा पुग्ने विश्वास दिलाए ।
भगवान राम र सीतासँग जोडिएका धार्मिक स्थलहरुलाई जोड्ने रामायण सर्किटसम्बन्धी पूर्वाधार निर्माण अघि बढाउनेबारे पनि छलफल भएको थियो । रामायण सर्किटले धार्मिक पर्यटनको प्रवर्द्धनमा सहयोग पुग्ने मन्त्री श्रेष्ठको भनाइ छ । जनकपुरको धार्मिक तथा पौराणिक महत्व झल्काउँदै पर्यटकीय गन्तव्यको रुपमा विकास गर्न भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणको समयमा समझदारी भएको वृहत्तर जनकपुर क्षेत्र विकाससम्बन्धी परियोजना अघि बढाउनेबारे पनि छलफल भयो ।
भूकम्पबाट क्षति भएका संरचना पुनर्निर्माणमा भारतीय सहयोगमा सञ्चालित परियोजनाको अवस्थाबारे पनि उनीहरुबिच कुराकानी भएको थियो । मन्त्री श्रेष्ठले कोरोना भाइरस महामारीपछि सरकारले पर्यटन क्षेत्रको पुनरुत्थानलाई प्राथमिकता दिएको बताउँदै नेपालमा भारतीय पर्यटकहरुको आगमन वृद्धिका लागि गर्नुपर्ने प्रवर्द्धनात्मक कार्यक्रमबारे पनि राजदूत श्रीवास्तवसँग छलफल गरे ।