Nic Ad Nic Ad
Nic Ad Nic Ad

गौरीशंकर सामुदायिक ब्याडमिन्टन संघ गुल्मीको नव निर्मित कभर्ड हल उद्घाटन

बिहीबार, मंसिर ८, २०७९

गुल्मी - गौरीशंकर सामुदायिक ब्याडमिन्टन संघ गुल्मीको नव निर्मित कभर्ड हलको उद्घाटन गरिएको छ । आज (शुक्रबार) रेसुङ्गा नगरपालिकाकी उपमेयर अमृतादेवी कुवँरले एक कार्यक्रमबीच कभर्ड हल उद्घाटन गरेकी हुन् । ‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद’ भन्ने मुल नाराका साथ कभर्ड हल निर्माण कार्य २०७७ साल जेठ १७ गते शिलान्यास गरेर काम अगाडि बढाइएको थियो ।

कर्भड हल निर्माणका लागि शहरी बिकास तथा भवन निर्माण विभाग संघीय आयोजना कार्यान्वयन इकाई रुपन्देहीको ४३ लाख ७९ हजार २२८ रुपैयाँ ४४ पैसा, सामाजिक बिकास डिभिजन कार्यालय पाल्पाबाट १० लाख र रेसुङ्गा नगरपालिकाको २ लाख ५० हजार गरी कुल ५७ लाख ५४ हजार २२८ रुपैयाँ ४४ पैसामा कभर्ड हल निर्माण भएको निर्माण समितिका अध्यक्ष तथा गौरीशंकर सामुदायिक ब्याडमिन्टन संघका उपाध्यक्ष हरिप्रसाद पाण्डेले जानकारी दिए ।

नव निर्मित कभर्ड हलको १९.५ मिटर लम्बाइ ,१२.६ मिटर चौडाई र ११.५ मिटर उचाई रहेको छ । कभर्ड हल निर्माण सुनिल समीर वान डिरेक्सन जे.भी. र उपभोक्ता समितिमार्फत गरिएको थियो ।

रेसुङ्गा नगरपालिका- ७ मा निर्माण भएको कभर्ड हलको संंरचना र निर्माणमा प्रयोग गरिएका सामग्री गुणस्तर भएको कार्यक्रमका बिशेष अतिथि (नेकपा) एमालेका नेता तथा पूर्व इन्जिनियर राजेन्द्रप्रसाद पाण्डेले बताए । रेसुङ्गा नगरपालिकाद्वारा सञ्चालित आयोजनामध्ये कभर्ड हल पनि एक भएकाले यसको ब्याबस्थापन र संरक्षण सबैको दायित्व रहेको पूर्व इन्जिनियर पाण्डेले बताए ।

खेलले खेलाडीलाई अनुशासित तथा गतिशिल बनाउने भएकाले कभर्ड हलमा आवश्यक बिभिन्न खेलकुद सामाग्री तथा बजेटको ब्यवस्था नगरपालिकाले गर्ने कार्यक्रमका प्रमुख अतिथि तथा रेसुङ्गा नगरपालिकाकी उपमेयर अमृतादेवी कुवँरले प्रतिवद्धता जनाइन् । उपमेयर कुवँरले कार्यक्रममा बोल्दै व्याटमिन्टन संघको स्वामित्वमा निर्माण भएको कभर्ड हलले खेलाडीको मनोबल उच्च बनाउँदै खेलमा सहभागिता बढाउन तथा नयाँं खेलाडी उत्पादनमा जोड दिने बताइन् ।

खेलकुदले मानिसलाई स्वास्थ राख्न मद्दत पुग्ने भएकाले यसको संरक्षणमा वडा र नगरपालिकाले बिशेष चासो दिने रेसुङ्गा नगरपालिका-७ का वडाध्यक्ष राम्जी पन्थीले बताए । यो कभर्ड हल जिल्लाकै उत्कृष्ट भएको र यसले खेलाडीको खेलमा मनोवल बढ्ने वडाध्यक्ष पन्थीले बताए ।

रेसुङ्गा नगरपालिका-१ का वडाध्यक्ष तथा गौरीशंकर सामुदायिक ब्याडमिन्टन संघ गुल्मीका अध्यक्ष रामप्रसाद पन्थीले कभर्ड हल निर्माणमा सहयोग गर्ने सबैलाई धन्यवाद दिएका थिए । कार्यक्रमको सञ्चालन गौरीशंकर सामुदायिक ब्याडमिन्टन संघका सचिव राजु कुवँरले गरेका थिए । कार्यक्रममा खेलाडीहरुको उत्साहजनक सहभागिता थियो ।

प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९  ०६:३४
प्रतिक्रिया दिनुहोस्