भाभी जी घर पर हे अभिनेता दीपेशको निधन
मुम्बई–लोकप्रिय टेलिभिजन शो ‘भाभी जी घर पर हे’का मलखान सिंह अर्थात दीपेश भानको निधन भएको छ । दीपेश शनिबार बिहान क्रिकेट खेलिरहँदा लडेपछि उनलाई अस्पताल लगिएको थियो । अस्पताल पुर्याउना साथ डाक्टरहरुले उनलाई मृत घोषित गरेका थिए । प्रत्यक्षदर्शीका अनुसार लड्नासाथ दीपेशको नाकबाट रगत बगेको थियो ।
दीपेशले शुक्रबार रातीसम्म सुटिङ गरेका थिए । उनी फिटनेसमा निकै सक्रिय थिए । शनिबार बिहान जिमबाट फर्किएपछि उनी क्रिकेट खेल्न गएका थिए । अभिनेताको निधनको पुष्टि शोका सहायक निर्देशक अभिनीतले गरेका छन् ।
दीपेशले दिल्लीबाट ग्रेजुएसन गरेपछि नेसनल स्कुल अफ ड्रामामा भर्ना भई अभिनयको कक्षा लिएका थिए । यहाँ पढाई पुरा गरेपछि दीपेश सन् २००५ मा मुम्बई आएका थिए ।
शोमा युवतीहरुलाई जिस्क्याए पनि वास्तविक जीवनमा उनी विवाहित थिए । उनको विवाह सन् २०१९ मा दिल्लीमा भएको थियो । जनवरी २०२१ मा उनी एक सन्तानका पिता बनेका थिए ।
यो शो अघि उनले ‘कमेडीका किङ कौन’, ‘कमेडी क्लब’, ‘भूतवाला,’ ‘एफआईआर’लगायतका शोमा काम गरेका थिए । सन् २००७ मा रिलिज फिल्म ‘फालतू उटपटाङ चटपटी कहानी’मा पनि दिनेशले अभिनय गरेका थिए । यसबाहेक उनी आमिर खानका साथ टी–२० विश्वकपको विज्ञापना पनि देखिएका थिए ।
–दैनिक भास्कर
प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९ ०१:४५
प्रतिक्रिया दिनुहोस्