राप्रपा पूर्ण समानुपातिक संसद र प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्रीको पक्षमा
काठमाडौँ - राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले पूर्ण समानुपातिक संसद् र जनताबाट प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्रीको अवधारणा अघि सारेको छ ।
आज (शनिबार) काठमाडौंमा सम्पन्न केन्द्रीय कार्यसमितिको बैठकले वर्तमान शासकीय स्वरूप र निर्वाचन प्रणालीमा सुधार तथा परिवर्तन गर्नुपर्ने भन्दै उक्त अवधारणा अघि सारेको हो । संवैधानिक राजसंस्थासहितको प्रजातन्त्र र सर्वधर्म समभाव, पूर्ण धार्मिक स्वतन्त्रतासहितको वैदिक सनातन धर्मसापेक्ष हिन्दुराष्ट्रको पुनःस्थापना, प्रदेशको खारेजी र बलियो स्थानीय तह रहने व्यवस्था स्थापनामा प्रतिबद्ध रहेको राप्रपाले जनाएको छ ।
आउँदो प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन स्वतन्त्र, निष्पक्ष, धाँधलीरहित र विश्वसनीय रूपमा सम्पन्न गर्न निष्पक्ष चुनावी सरकार माग गर्दै राप्रपाले वर्तमान व्यवस्थाअनुसारकै निर्वाचन प्रणालीमा भाग लिएर आफ्नो मुद्दा स्थापित गर्ने समेत निणर्य गरेको छ ।
बैठकले महँगीका कारण आम सर्वसाधारण प्रताडित भएको अवस्थामा मूल्यवृद्धि नियन्त्रण गर्न र बजारको प्रभावकारी अनुगमन गर्न सरकारको ध्यानाकर्षण गराएको पार्टी अध्यक्ष राजेन्द्र लिङदेनले जानकारी दिए ।
विदेशमा रहेका नेपालीलाई पनि मतदानको व्यवस्था मिलाउन, निजी अस्पतालमा पनि स्वास्थ्य बिमाको उपचार सुविधा दिन, मलखादको व्यवस्था गर्न पनि उनले सरकारको ध्यानाकर्षण गराए । बैठकले एसपीपी फिर्ता पठाउनेबारे सरकारले अहिलेसम्म अमेरिकालाई पत्राचार नगरेकामा आपत्ति समेत जनाएको छ । बैठकमा प्रस्तुत राजनीतिक कार्यपत्र, आउँदो कार्ययोजना तथा प्रतिवेदनहरू संशोधनसहित पारित गरिएको राप्रपाले जनाएको छ ।