नीरज चोपडाले जिते विश्व एथलेटिक्स च्याम्पियनसिपमा रजत पदक
काठमाडौँ– भारतीय खेलाडी नीरज चोपडाले विश्व एथलेटिक्स च्याम्पियसिपमा पुरुष ज्याभ्लिन थ्रोमा रजत पदक जित्न सफल भएका छन् ।
टोकियो ओलम्पिकका च्याम्पियन चोपडाले चौथो प्रयासमा ८८.१३ मिटर टाढा थ्रो गर्दै रजत पदक जितेका हुन् ।
सोही प्रतिस्पर्धामा ग्रेनेडाका एन्र्सन पिटर्सले स्वर्ण पदक जिते । उनले आफ्नो अन्तिम थ्रोमा ९०.५४ मिटर टाढा भाला (ज्याभ्लिन) फालेका थिए । चेक रिपब्लिकका ज्याकब वादले भने कास्य पदक जिते ।
१९ वर्षपछि भारतले विश्व एथलेटिक्स च्याम्पियनसिपमा पहिलो पटक पदक जितेको हो । यसअघि सन् २००३ मा अन्जु बोब्बी जर्जले महिला लंग जम्पमा कास्य पद जितेकी थिइन् ।
लामो समयको खडेरीपछि विश्व एथलेटिक्समा पदक जितेका नीरजलाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बधाई दिएका छन् । ऐतिहासिक रजत पदक जितेका नीरजलाई मोदीले शुभकाना पनि दिएका छन् ।
भारतीय खेलका लागि यो एक महत्वपूर्ण क्षण भएको भन्दै मोदीले आगामी प्रतिस्पर्धामा सफलता हात पार्न शुभकामना दिएका छन् । यस्तै, विदेश मन्त्री एस जयशंकर, रक्षा मन्त्री राजनाथ सिंहलगायतले नीरजलाई बधाई तथा शुभकामना दिएका छन् ।
प्रकाशित मिति: शुक्रबार, मंसिर ९, २०७९ ०१:३०
प्रतिक्रिया दिनुहोस्