इंग्ल्यान्ड पहिलोपटक युरोकपको फाइनलमा
काठमाडौँ– इंग्ल्यान्डले स्विडेनलाई पराजित गर्दै युरोकप फुटबलको फाइनल प्रवेश गरेको छ ।
मंगलबार स्विडेनलाई ४-० गोलअन्तरले पराजित गर्दै इंग्ल्यान्डले वुमेन्स युरो २०२२ को फाइनल यात्रा सुनिश्चित गरेको हो । योसँगै अब इंग्ल्यान्डलाई वेम्बलीमा हुने फाइनलमा महिला फुटबल इतिहासकै पहिलो ठूलो उपाधि जित्ने अवसर प्राप्त भएको छ । घरेलु टिमका लागि बेथ मेड, लुसी ब्रोन्ज, एलेसा रुसो र फ्रान किरबाइले गोल गरे । अब आइतबार हुने फाइनलमा इंग्ल्यान्डले दोस्रो सेमिफाइनल विजेताको सामना गर्नेछ । बुधबार हुने उक्त खेलमा जर्मनी र फ्रान्स भिड्दै छन् ।
लगातार तीन ठूलो प्रतियोगिताको सेमिफाइनलमा रोकिएको इंग्ल्यान्डले यसपल्ट भने कुनै त्यस्तो समस्या सामना गर्नु परेन । ब्रामल लेनमा उपस्थित २९ हजार दर्शकसामु इंग्ल्यान्डले शानदार जित निकाल्न सफल रह्यो ।
स्विडेन भने सन् २०१९ यता पहिलो पटक ‘ओपन प्ले’ को खेलमा पराजित भएको छ । स्विडेन प्रतियोगितामा सहभागी टिममध्ये सबैभन्दा शीर्ष वरीयताको टिम हो ।