विवादबारे भुवन भन्छन्–यो गलत हो
काठमाडौं–अभिनेता, निर्माता तथा निर्देशक भुवन केसीलाई मन्त्रीपरिषदको बैठकले चलचित्र विकास बोर्डको अध्यक्षमा नियुक्त गरेपछिसामाजिक सञ्जालमा ‘विवादित’ व्यक्तिलाई नियुक्ति गरिएको भन्दै चर्को आलोचना भयो । फिल्मकर्मीले यो निर्णयको स्वागत गरिरहँदा सामाजिक सञ्जाल प्रयोगकर्ताले भने निर्णयको विरोध गरे ।
बुधबार बोर्डको कार्यालय चाबहिलमा पदबहाली गरिरहँदा उनलाई सामाजिक सञ्जालमा आएको विषयबारे प्रश्न गर्दा भुवन यो विषयमा बोल्न चाहनेनन् । ‘यो गलत हो’, उनले यतिमात्र जवाफ दिए ।
भुवनले निर्माण तथा निर्देशन गरेको फिल्म ‘ड्रिम्स’बाट अभिनयमा डेब्यू गरेकी अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहले दुई वर्षअघि सामाजिक सञ्जालमार्फत आफूले दुव्यर्वहार भोग्नुपरेको खुलाएकी थिइन् ।
उनले भुवनको नाम नतोके पनि ‘ड्रिम्स’को विषयमा कुरा गर्दा सबैको ध्यान भुवनतिर परेको थियो । साम्राज्ञीका भनाई लगत्तै भुवनले सामाजिक सञ्जालमा ‘जुन थालमा खाने, त्यही थालमा दुलो पार्ने’ भन्दै प्रतिक्रिया दिएका थिए । उनले ‘सामाजिक सञ्जालमा गर्ने बराबरको अभिनय फिल्ममा पनि गरे हुने नि’ भन्दै कटाक्ष गरेका थिए ।
पदबहाली पछि भुवनले चाँडै नै फिल्मकर्मी, प्राविधिक, दर्शकलगायतको गोलमेच सम्मेलन गर्दै उनीहरुको समस्या सुनेर नयाँ कार्ययोजना तयार पार्ने बताए ।
प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९ ००:५८
प्रतिक्रिया दिनुहोस्