श्रीलंका पछि बंगलादेश पनि टाट पल्टदैँ, आईएमएफसँग ऋण मागियो
काठमाडौँ– मंगलबार बंगलादेशमा आठ विकासशील देशका व्यवसायी र अधिकारीबीच भेटवार्ता भएको छ । घट्दै गएको विदेशी मुद्रा सञ्चिति, बढ्दो ऊर्जा सङ्कट र आपूर्ति शृङ्खलामा अवरोधका कारण थप सहयोग आवश्यक रहेको उक्त बैठकमा जनाइएको छ ।
बंगलादेशको समाचार वेबसाइट डेली स्टारको रिपोर्ट अनुसार त्यहाँको सरकारले घट्दै गएको विदेशी मुद्रा सञ्चितिलाई स्थिर राख्न अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)सँग ४ अर्ब ५० करोड डलर ऋण मागेको छ ।
इजिप्ट, इरान, मलेसिया, नाइजेरिया, पाकिस्तान, टर्की र बंगलादेशका प्रतिनिधिहरूले मंगलबार वैकल्पिक वित्तीय व्यापारको बारेमा कुरा गरे। यसमा विदेशी मुद्रा सञ्चितिको दबाबबाट मुक्ति पाउन एक अर्काको मुद्रामा हुने कारोबारलाई पनि विचार गरियो ।
बंगलादेशका विदेशमन्त्री एके अब्दुल मोमेनले डी–८ देशको अर्थतन्त्र ५ ट्रिलियन डलर रहेको बताए । उनले डी–८ देशहरु स्वतन्त्र व्यापार सम्झौता र आपसी व्यापार बढाउन काम गरिरहेको बताए ।
यस बैठकमा सहभागी सदस्य राष्ट्रले ऊर्जा सुरक्षाका विषयमा विश्वका शीर्ष तेल उत्पादक राष्ट्र इरान र नाइजेरियासँग वार्ता गरिरहेको आयोजकको भनाइ छ ।
डी–८ चेम्बर अफ कमर्स एन्ड इन्डस्ट्रीका अध्यक्ष शेख फजल फहिमले भने, ूकोभिड महामारी र अन्य प्रमुख विश्वव्यापी आर्थिक अवस्थाका कारण सबै सदस्य राष्ट्रहरूले विदेशी विनिमय सञ्चिति घट्ने र कमजोर मुद्राको समस्या सामना गरिरहेका छन्। आपूर्ति श्रृंखला अवरुद्ध छ, मुद्रास्फीति बढेको छ र ऊर्जासँगै खाद्य सुरक्षा खतरामा छ। यसका लागि हामीले सावधानी अपनाउन जरुरी छ ।
बंगलादेशको जनसंख्या १६ करोड रहेको छ र र विश्वको ४१ औं सबैभन्दा ठूलो अर्थतन्त्र भएको मुलुक पनि हो। बंगलादेशले आफ्नो तेल आयात बिल घटाउन डिजेलबाट चल्ने आफ्नो पावर प्लान्ट बन्द गरेको छ । यसबाहेक बंगलादेशको केन्द्रीय बैंकले पनि डलरको भाउ कम भएकाले विलासिताका सामानको आयात घटाउने निर्णय गरेको छ ।
बंगलादेशको समाचार वेबसाइट द डेली स्टारको रिपोर्ट अनुसार अर्थमन्त्री एएचएम मुस्तफा कमलले आईएमएफमा ४.५ अर्ब डलर ऋणका लागि औपचारिक निवेदन दिएका छन् ।
डेली स्टारको रिपोर्ट अनुसार बंगलादेशका अर्थमन्त्रीले भुक्तानी सन्तुलनका साथै जलवायु परिवर्तनका कारण आएको परिवर्तनको सामना गर्न सहयोग मागेका छन् । आईएमएफमा गएपछि बंगलादेश पनि आर्थिक संकट झेलिरहेका देशको सूचीमा परेको स्पष्ट भएको छ ।
यस महिनाको सुरुमा आईएमएफले पाकिस्तानलाई ४ अर्ब डलर ऋण दिने सहमति गरेको थियो । यसबाहेक तान्जानियालाई १.०५ अर्ब डलर, घानालाई १.५ अर्ब डलर ऋण दिने सहमति भएको छ ।
बंगलादेशको केन्द्रीय बैंकको तथ्याङ्क अनुसार गत वर्ष जुलाई र यस वर्षको मे बीचको आयात ८१.५ अर्ब डलर पुगेको छ, जुन अघिल्लो वर्षको तुलनामा ३९ प्रतिशतले बढी हो ।
जसका कारण बंगलादेशी सामान अन्य देशमा बेचेर प्राप्त हुने रकम र बंगलादेशले अन्य देशबाट खरिद गरेको सामानमा खर्च हुने रकमबीचको अन्तर फराकिलो भएको छ । आर्थिक वर्ष २०२१–२२ को पहिलो ११ महिनामा बंगलादेशको चालू खाता घाटा छ गुणाभन्दा बढेर १७.२ बिलियन डलर पुगेको छ।
वैदेशिक रोजगारीमा रहेका बंगलादेशीबाट आउने आम्दानीमा आएको कमी र निर्यात घट्दै गएका कारण यहाँको विदेशी मुद्रा सञ्चिति खाली हुँदै गएको छ । गत वर्षको सोही समयमा बंगलादेशको विदेशी मुद्रा सञ्चिति ४५ अर्ब डलर थियो, जुन अहिले जुलाई २० सम्ममा ३९ अर्ब डलर पुगेको छ ।
प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९ १८:११
प्रतिक्रिया दिनुहोस्