गीतमा डीआरको नयाँ विश्व रेकर्ड
काठमाडौं– विश्व कीर्तिमानी गीतकार डा. डीआर उपाध्याय खनालले अन्तर्राष्ट्रिय पचास भाषामा एक गीत सार्वजनिक गरेर विश्व रेकर्ड कायम गरेका छन् । बुधबार राजधानीमा एक कार्यक्रमको आयोजनागरी गिनिज बुक अफ वल्र्ड रेकर्ड कायम गरेको सो गीतको प्रमाण पत्र उनलाई हस्तान्तरण गरिएको छ । शहरी विकास मन्त्री मेटमणी चौधरीले उनलाई उक्त प्रमाण पत्र हस्तान्तरण गरेका हुन् ।
सन्तोष श्रेष्ठको संगीत रहेको गीतमा नेपाली भाषामा सन्तोषको स्वर, हिन्दीमा डीआरको र अन्यमा प्रकाश तिमल्सिनाकोे स्वर रहेको छ । गीत नेपाली, हिन्दी, जापानी, चिनिया, अङ्ग्रेजी, रुसी, कोरियाली, फ्रान्सेली, स्पेनी, इटालियन, जर्मन, थाई, मौरिसियन, उर्दु, स्वेडिस, क्रोसियन, हेब्रु, पोर्तुगाली, बंगाली, संस्कृत, स्टोनियन, भियतनामी, डच, सिंहाली, स्लोभेनियन, इन्डोनेसियन, रुमानी, फिनिस, पेरुभियन, टर्किस, ग्रिक, फिलिपिनो, अल्बानियन, युक्रेनियन, अफ्रिकी, स्लोभाकिया, सर्बियाली, पानामियन, नर्वेजियन, आइसल्यण्डीक, बर्मेली, कोल्म्बीयन, कुर्डिस, स्वाहिली, पोलिस, बोलिभियन, हङ्गेरियन, डेनिस, लात्भियन र आर्मेनियन भाषामा रहेको छ ।
खनाल समाजका अध्यक्ष केदारनाथ खनालको अध्यक्षतामा भएको कार्यक्रममा अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजका निर्वतमान अध्यक्ष राधेश्याम लेकाली, गीतकार संघका निर्वतमान अध्यक्ष चुण्डामणी देवकोटा, पूर्व राजदूत रमेशप्रसाद खनालले शुभकामना दिएका थिए ।
संगीतकार सन्तोष श्रेष्ठले यसअघि विभिन्न १२ देशका भाषामा गीत गरेकोमा फेरि पचास भाषामा गीत सार्वजनिक भएको र यसले विश्व कीर्तिमान कायम गरेकोमा निकै हर्षित भएको बताउँदै डा. उपाध्यायले हरेक पल्ट नयाँ र फरक कार्य गर्न खोज्ने क्रममा यसको जन्म भएको बताए ।
मन्त्री चौधरीले. डा. उपाध्यामा अदभूत क्षमता रहेको र उनले कीर्तिमान कायम गर्दै गएको बताए । यस्तै गीतका रचनाकार डा. उपाध्यायले आफूले आफ्ना लागि मात्र नभएर आफ्नो समाज र देशलाई चिनाउनका लागि फरक कार्य गर्दै आएको दाबी गरे ।
सो अवसरमा तिलिचो हिमालमा लोकार्पण गरिएको उपन्यास ‘भाइरस लभ’को विश्व कीर्तिमानको प्रमाण पत्र पनि डा. उपाध्यायलाई हस्तान्तरण गरिएको थियो । यसअघि गीत संगीत तथा विविध विधामा १०८ विश्व कीर्तिमान कायम गरेका छन् । उनको विश्व कीर्तिमानको संख्या ११० पुगेको छ ।
कीर्तिमानी डा. उपाध्यायका २८ एल्बमका सयौं गीत स्रोता÷दर्शकमाझ छन् । यस्तै, उहाँका ‘बज्रघात’, ‘त्यागी’, ‘भाग्यचक्र’, ‘अपवित्र छायाँ’, ‘स्वार्थी’, ‘बिटुली’, ‘अतिरिक्त’, ‘दगाबाज’, ‘अधुरो प्रेम’, ‘सपनाकी रानी’, ‘कफी लभ’, ‘मेरी प्रिया’ र भाइरस लभ जस्ता उपन्यास पाठकमाझ आएका छन् । यस्तै उहाँको नयाँ उपन्यास ‘कसुर’ छिट्टै सार्वजनिक गर्ने बताइएको छ ।
प्रकाशित मिति: शुक्रबार, मंसिर ९, २०७९ ०२:०४
प्रतिक्रिया दिनुहोस्