मध्य भोटेकोशीको सात हजार मिटर लामो सुरुङ छिचोलियो
सिन्धुपाल्चोक– सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका र बाह्रबिसे नगरपालिकामा निर्माणाधीन १०२ मेगावाट क्षमताको मध्य भोटेकोशी जलविद्युत आयोजनाको सात हजार १२६ मिटर लम्बाइको सुरुङको अन्तिम ‘ब्रेक थु’ गरिएको छ ।
उक्त आयोजनाका सिनियर सिभिल इन्जिनियर उमेश पराजुलीले ७ हजार १२६ मिटर लम्बाइ र ५ दशमलव ७ मिटर ब्यास रहेको सुरुङको निर्माण कार्य साउन १२ गते नै सम्पन्न भएको जानकारी दिए ।
उनले अहिले सुरुङमा ढलान (लाइलिङ) गर्ने कार्य शुरु भएको बताए । उक्त आयोजनाको बाँध क्षेत्र भोटेकोशी गापा १ मा र बाह्रविसे नगरपालिका वडा नं. ५ मा पावरहाउस रहेको छ ।
१०२ मे.वा. क्षमताको यस आयोजनाको औसत वार्षिक उत्पादन ५४ करोड २३ लाख युनिट छ । नेपाल विद्युत प्राधिकरण र मध्य भोटेकोशी जलविद्युत कम्पनी लि. बीच विद्युत खरिद सम्झौता २०६८ कात्तिक २८ गते भएको थियो ।
आयोजना अनुसार, ५० प्रतिशत स्वपुँजी र ५० प्रतिशत ऋण लगानीमा निर्माणाधीन सो कम्पनीले कर्मचारी संचय कोषसँग २०६८ मंसिर २२ गते ऋण सम्झौता गरेको थियो ।
करिब डेढ वर्ष अगाडि मध्यभोटेकोशीको व्यवस्थापन परिवर्तन भए सँगै र नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको निर्देशनपश्चात् उक्त कम्पनीको निर्माण कार्यले तीव्रता पाएको छ ।
गत वर्ष विद्युत प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले आयोजना स्थलमा उपस्थित भएर परामर्शदाता, ठेकेदार लगायत आयोजनाका कर्मचारीलाई चाँडोभन्दा चाँडो कार्य सम्पन्न गर्न निर्देशन दिनु भएको थियो ।
कम्पनीका व्यवस्थापक, परामर्शदाता कम्पनी, ठेकेदार कम्पनी तथा आयोजनका सम्पूर्ण कर्मचारीको संयुक्त पहलको कारण मध्य भोटेकोशीको निर्माण कार्य अगाडि बढेको हो ।
प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९ १५:३३
प्रतिक्रिया दिनुहोस्