Nic Ad Nic Ad
Nic Ad Nic Ad

गुँला पर्व प्रारम्भ

शुक्रबार, मंसिर ९, २०७९
काठमाडौँ। जीवनलाई राम्रो मार्गमा डो¥याउन नियम पालना गरेर मनाइने गुँला पर्व आजदेखि सुरु भएको छ । नेवार समुदायले चान्द्रमासअनुसार श्रावण शुक्ल प्रतिपदादेखि भाद्र शुक्ल प्रतिपदा(एक महिना)सम्म तोकिएको नियम(शिल) पालनाका साथै राम्रोसँग धर्म–कर्म गरेर मनाइने यो पर्व आजदेखि विधिवत् सुरु भएको हो । नेपाल संवत्अनुसार दशौँ महिनालाई गुँला भनिन्छ । गुँको अर्थ गुन गर्ने अर्थात् राम्रो एवं गुनिलो काम गरेर अरुको उपकारसमेत गर्ने कामलाई जनाउने राजगुरुजु मञ्जुश्रीबज्र बज्राचार्य बताउँछन्। यस पर्वका अवसरमा जुन नियमको पालनाले जीवनमा राम्रो हुन्छ त्यसैलाई पालना गरिन्छ । “यस पर्वका अवसरमा सक्नेले दशशील, नसक्नेले अष्टशील र त्यो पनि नसक्नेले कम्तीमा पनि पञ्चशील पालना गर्नुपर्छ, पञ्चशील सबैले सधैँ पालना गर्नुपर्छ भन्ने नियम छ”, उनले भने, पञ्चशीलमा प्राणी हिंसा नगर्ने, कसैले नदिई केही पनि नलिने, मिथ्याचार काम नगर्ने, झुटो कुरा नबोल्ने, लागुपदार्थ एवं मद्यपान नगर्ने पर्दछन् ।पञ्चशीलमा तीन शील थपेपछि अष्टशील हुन्छ । अग्लो खाटमा नसुत्ने, मनोरञ्जन नगर्ने र समयमै भोजन गर्नेलाई अष्टशील भनिन्छ । यसमा दुई कुरा थपेपछि दशशील हुन्छ । आभूषण ग्रहण नगर्ने र ब्रह्मचर्यमा बस्ने नियम पालना गर्नुलाई दशशील भनिने पनि राजगुरुजु बज्राचार्यले बताए। यो महिनामा क्षमताअनुसार भित्री मनदेखि दान दिने गरिन्छ । महिनाभर स्वयम्भूको महाचैत्यमा विशेष मेला पनि लाग्ने गर्छ । राजधानी सहरका विभिन्न भागबाट गुँला बाजा बजाएर स्वयम्भू पुग्ने भक्तजनको प्रत्येक वर्ष यो महिनामा भीड लाग्छ । वर्षभर निधन भएका व्यक्तिको नामबाट श्रृङ्गभेदी अर्थात् भैँसीको सिङबाट बनेको बाजा बजाएर स्वयम्भू पुग्ने भक्तजन पनि धेरै हुन्छन् । काठमाडौँ महानगरपालिका वडा नं ७ चावहिलका राजेन्द्र डङ्गोल धिमेबाजा, बाँसुरी, पछिमा (ढोलकजस्तै बाजा) बजाएर मन्दिर घुमी गुँला पर्व मनाउने गरिएको सुनाउँछन् । चावहिलमा चन्द्रविनायक पर्खालभित्रबाट घुम्ने गरिन्छ । झरीका कारण विभिन्न रोग व्याधीले सताउने भएकाले मन्दिर घुमी प्रार्थना गर्दा शरीर स्वस्थ हुने गरेको उनको अनुभव छ । यो पर्वका अवसरमा मनाइने केपु बाजाको पूजा तथा आराधना गर्ने परम्परा पछिल्लो समय जनशक्ति अभावले लोप हुन थालेको छ ।चावहिल क्षेत्रका घर घरमा गरिने यो परम्परालाई निरन्तरता दिन हाल यहाँको नाट्येश्वरीमा राखिएको बाजालाई पूजा गरी निरन्तरता दिइने गरिएको छ । चावहिलबाट पनि विगत वर्षमा महिनाभरमा एक दिन भए पनि फुर्सद मिलाएर विभिन्न थरी बाजा बजाउँदै स्वयम्भू घुम्न जाने गरिन्छ ।
प्रकाशित मिति: शुक्रबार, मंसिर ९, २०७९  ०१:०५
प्रतिक्रिया दिनुहोस्