ट्रेलरमा मानिस ठूलो दिलले हुन्छ
काठमाडौं–फिचर फिल्मको लम्बाईमा संवादसहित निर्माण भएको गीति फिल्म ‘मानिस ठूलो दिलले हुन्छ’को ट्रेलर सार्वजनिक भएको छ । शुक्रवार राजधानीमा सार्वजनिक गरिएको ट्रेलरमा जातीय विभेदको दर्दनाक पाटोलाई देखाइएको छ । फिल्मका अभिनेता अभिनास न्यौपाने र अभिनेत्री श्रेया कार्कीबीचको प्रेमलाई पनि ट्रेलरमा देख्न सकिन्छ ।
सौरपानी मिडियाको व्यानरमा निर्माण भएको फिल्ममा देवेन्द्र पान्डेको निर्देशन र मणि नेपाली पनेरुको लगानी छ । निर्माता पनेरुले लेखेका ६ वटा लोकगीतमा आधारित भएर फिल्म निर्माण गरिएको हो । फिल्ममा मोहन निरौला, उत्तम केसी, सरु सुनवार, शुभम् आचार्य, सविना न्यौपाने, मणि नेपाली पनेरुको अभिनय छ । फिल्मको ट्रेलर इन्टरनेटमा केही दिनपछि सार्वजनिक गरिनेछ ।
क्यानडाको लागि नेपाली सांस्कृतिक दुतसमेत रहेका पुर्ण नेपालीको एकल संगीतमा रहेका फिल्मका गीतहरुमा राजु परियार, तुलसी पराजुली, देवि घर्ती, निशा देसार, धर्मेन्द्र सेवान, टीका पुनलगायतका गायकगायिकाहरुको स्वर रहेको छ । नेपालअघि फिल्मलाई अमेरिकालगायतका देशमा प्रदर्शन गरी नेपालमा प्रदर्शन गरिने निर्माण पक्षले जनाएको छ । फिल्मको नेपाल रिलिज मिति सार्वजनिक गरिएको छैन ।
कार्यक्रममा निर्माता पनेरुद्वारा लिखित चार कृतिहरु उपन्यास ‘सात जुनी’, बालकविता संग्रह ‘हाम्रो झन्डा’, गीति संग्रह ‘स्वर्गको गाथा’ र कविता संग्रह ‘मुटु हराएको मान्छे’ एकसाथ लोकापर्ण गरिएको छ । सूचना, सञ्चार तथा प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले पनेरुको चारवटै कृतिको एकसाथ लोकापर्ण गरेका हुन् ।
नेपाल विश्व सहयोग संघ र सौरपानी मिडियाको आयोजनामा भएको कार्यक्रममा विभिन्न व्यक्तिहरुलाई समेत सम्मानित गरियो । साहित्यकार तथा प्राध्यापक डा. रामप्रसाद ज्ञवाली, समाजसेवी कैलाशकुमार पनेरु, कलाकार मोहन निरौला, फिल्म पत्रकार जीवन पराजुली, निर्देशक देवेन्द्र पाण्डे, कलाकार उत्तम केसी, नेपाल शिक्षक संघका राजेन्द्रराज पौडेल, गायक पूर्ण नेपाली, मोडल श्रेया कार्की, कलाकार अभिनास न्यौपानेलगायतलाई मन्त्री कार्कीले सम्मान पत्र प्रदान गरेका थिए ।
फिल्ममा कृष्ण पुनको ब्याकग्राउन्ड स्कोर, बसन्त गोर्खाली प्रोडक्सन म्यानेजर, जीवन पराजुली मिडिया को–अर्डिनेटर, साहिल खानको ट्रेलर, देवेन्द्र पाण्डेको कोरियोग्राफी, उत्सव दाहालको छायांकन र विकास दाहालको सम्पादन छ ।
प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९ ००:०२
प्रतिक्रिया दिनुहोस्