रणवीर र श्रद्धा अभिनीत फिल्मको सुटिङ सेटमा आगलागी, एकको मृत्यु
मुम्बई–भारतीय फिल्म निर्देशक लव रञ्जनको एक बेनाम फिल्मको सेटमा आगलागी भएको छ । मुम्बईको अँधेरी वेस्टस्थित चित्रकूट स्टुडियोमा अभिनेत्री श्रद्धा कपूर र रणवीर कपूर स्टारर फिल्मको एक गीतको लागि तयार पारिएको सेटमा आगलागी हुँदा एक व्यक्तिको मृत्यु भएको छ । यो फिल्मको सेटसँगै राजश्री प्रोडक्सनको सेटमा पनि आगलागी भएको छ ।
सिविक अफिसियल्सका अनुसार आगलागीमा मनीष देवासी घाइते भएका थिए । उनलाई तुरुन्तै सिविक रन कपूर अस्पतालमा पुर्याउँदा मृत घोषणा गरिएको थियो । उनी ३३ वर्षका थिए ।
फेडरेशन अफ इण्डिय सिने एम्प्लाईका महासचिव अशोक दुवेका अनुसार लव रञ्जनको सेटमा लाइटिङको काम गरिरहेका एक प्राविधिक गम्भीर घाइते भएका छन् ।
सेटको छेउमा राखिएका केही काठका सामाग्रीबाट आगलागी सुरु भएको थियो । तर के कारणले आगलागी भयो भन्ने खुल्न सकेको छैन । अशोकका अनुसार सेट बनाउने ठेकेदारको गल्तीका कारण आगलागी भएको हो । किनकी डेढ वर्षअघि बंगुर नगरमा जुन फिल्मको सेटमा आगलागी भएको थियो त्यही सेटका ठेकेदारले लव रञ्जनको फिल्मको सेट बनाएका थिए ।
लव रञ्जनको फिल्मबाट अभिनयमा डेब्यू गर्न लागेका निर्माता बोनी कपूरले आगलागी भइरहँदा सेटमा लाइटिङको काम चलिरहेको बताए । उनीहरुले शनिबारबाट सुटिङको तयारी गरेका थिए ।
–दैनिक भास्कर
प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९ ००:०२
प्रतिक्रिया दिनुहोस्