गुजारा चलाउन परम्परागत शैलीबाट तामाका भाँडा बनाउँदै युवा
- गोमा थापा
धादिङ – धादिङ गल्छीका रामशरण विश्वकर्माको गल्छी गाउँपालिका–७ मछेडी खोला स्थित पृथ्वी राजमार्गको छेउमै एउटा छाप्रो छ । उनले बिहानदेखि बेलुकासम्म तामाको औजार बनाउने गर्दछन् ।
आफूले गर्दै आएको पुर्ख्यौली पेशाप्रति आफैलाई गर्व लाग्ने गरेको उनी बताउँछन् । जतिसुकै नयाँ-नयाँ प्रविधि र मेसिनहरू बजारमा भित्रिएपनि परम्परागत शैलीबाट तामा पिटेर भएको आम्दानीले परिवारमा सन्तुष्टि दिलाउनुको छुट्टै मजा रहेको रामशरणले बताए ।
रामशरणसँगै काम गर्ने अरु चार/पाँच जना छन् । परम्परागत शैलीमा तामाको गाग्रो, अम्खोरा, ताम्रपत्र लगायतका भाँडा बनाएरै उनीहरूले दैनिकी गुजारेका छन् । उनीहरूले घरेलु व्यवसायबाटै मासिक २५ हजार रुपैयाँसम्म बचत गर्ने गरेको बताएका छन् ।
उद्योगहरूमध्ये प्रति महिना एक जनाले ८० वटासम्म गाग्री बनाउने गरेका छन् । तर उनीहरूले कच्चा पदार्थमा भने लगानी गर्नु पनि पर्दैन । काठमाडौं, पोखरालगायत शहरका ठूला व्यापारीहरूसँग कच्चा पदार्थ लिएर भाँडाकुँडा निर्माण गर्ने गरेका छन् । त्यसबाट उत्पादित सामाग्रीको प्रतिकिलोका आधारमा श्रमको ज्याला लिने गरेको स्थानीय प्रेम बिक. बताउँछन् ।
घरेलु व्यवसायबाट राम्रो आम्दानी भएपनि काममा भने त्यत्ति सहज नभएको व्यवसायीहरूको भनाइ छ । चर्को घाममा जस्ताको टहरामुनि असिनपसिन गर्दै आगोमा तामा तताएर पिट्न त्यत्ति सहज पनि नभएको उनीहरूले बताएका छन् ।
तर पनि घर परिवार छाडेर अन्य मुलुकमा गई पसिना बगाउनु भन्दा आफुसँग भएको सीप प्रयोग गरेर घर गाउँमै स्वरोजगार बन्नु आफूहरूका लागि अवसर भएको व्यवसायी कान्छा वि.क.को भनाइ छ ।
धादिङको बेनिघाट, गजुरी, गल्छी र निलकण्ठ गरी पाँच ठाउँमा दलित समुदायका युवाहरूले व्यवसायिक रुपमा नै यस्ता पेशा गरिरहेका छन् । तर स्थानीय सरकारले उनीहरूले गर्दै आएको पेशालाई बढोन्नति गराउन सकेको छैन ।
तामा, पितल तथा सिल्भरका भाडा बनाउने आरनहरु व्यवसायिक बनाई ग्रामीण उद्योग प्रवर्द्धन गर्न स्थानीय सरकारले पहल गर्न सक्नुपर्छ । यस्ता परम्परागत शैलीमा चल्दै आएको पेशालाई प्रविधिसँग जोड्ने हो भने युवाहरूलाई स्थानीय स्तरमै रोजगार बनाउन सकिने निश्चित छ ।