Nic Ad Nic Ad
Nic Ad Nic Ad

मोहम्मद रफी, जाे भए हिन्दी फिल्म जगतको ‘तानसेन’ 

बुधबार, मंसिर ७, २०७९
काठमाडाैँ– मोहम्मद रफी सही अर्थमा एक पूर्ण गायक थिए । उनको स्वरमा शास्त्रीय संगीत, रोमान्टिक गीत, दु:खी गीत, खुशी गीत, देशभक्ति गीत, रक एण्ड रोल, डिस्को नम्बर, भजन, शब्द, कवाली, नातिया कलाम के के गीत थिएनन् ! रफीले १४ भारतीय भाषाका अलावा दुई अंग्रेजी गीत गाएका थिए । साठीको दशकमा जब उनी मरिसस पुगे, त्यहाँ उनले क्रियोलमा पनि एक गीत गाएका थिए । वर्ष १९४७ मा जब भारत विभाजन भयो, तब रफीले भारतमा नै बस्ने निर्णय लिए । रफीलाई बम्बईमा संगीतकार नौशादले ब्रेक दिएका थिए । ‘मैले ठूलाभन्दा ठूला गायकहरु सुरबाट टाढिएको देखेको छु । एक एक्लो मोहम्मद रफी छन्, जसलाई कहिल्यै पनि सुरबाट टाढिएको देखिनँ’, ७० को दशकमा नौशादले एक रेडियो अन्तरवार्तामा भनेका थिए । यी दुवैले कुल ४१ फिल्ममा सहकार्य गरे । एकपटक नौशादलाई अर्को रेडियो अन्तरवार्तामा ‘यदी तपाईंलाई आफ्नो जिवनमा सबैभन्दा राम्रो संगीत रचना गर्नु छ भने तपाईं के गर्नुहुन्छ ?’ भनि सोधिएको थियो । ‘रफी र म सधैं एउटै थियौं । उनको निधनपछि मसँग ५० प्रतिशत मात्र बाँकी छ । म अल्लाहसँग प्रार्थना गर्छु कि रफीलाई यो संसारमा मात्र एक घण्टाका लागि पुन: पठाइदिनुहोला ताकि म आफ्नो राम्रो संगीत रचना गर्न सकुँ’, नौशादले भनेका थिए । ‘सुनो सुनो ए दुनिया वालो’ जब भारत विभाजनको पीडाबाट बाहिर निस्किरहेको थियो, त्यही बेला राष्ट्रपिता महात्मा गान्धीको गोली हानी हत्या गरियो । यही बेला राजेन्द्र कृष्णले लेखेको गीत ‘सुनो सुनो ए दुनियाँ वालों, बापूकी ये अमर कहानी’लाई हुस्नराम भगत रामले संगीत दिएका थिए र त्यसमा मोहम्मद रफीकै स्वर थियो । यो गीत सुन्नका लागि तत्कालीन प्रधानमन्त्री जवाहरलाल नेहरुले विशेष रुपले मोहम्मद रफीलाई दिल्लीको आफ्नो निवासमा बोलाएका थिए । गीत सुनेर नेहरुको आँखा रसाएको थियो । भारत स्वतन्त्रताको पहिलो वर्षमा नेहरुले रफीलाई चाँदीको एक मेडल उपहार दिएका थिए । उमेरले २४ वर्ष मात्र पुगेका रफीका लागि यो एक ठूलो सम्मान थियो । यो गीतले सारा भारतमा सराहना पायो र मोहम्मदको जीवन पहिला जस्तो भएन । ओपी नैयरसँग विवाद नौशादबाहेक मोहम्मद रफीको सबैभन्दा नजिकका संगीतकार ओपी नैयर थिए । नैयर समयनिष्ठ थिए । उनी ९ बजेर १० मिनेटमा आफ्नो रेकर्डिङ स्टुडियोको ढोका बन्द गर्थे । यसपछि कसैलाई पनि भित्र जान दिइदैन थियो । आकाशवाणीका पूर्व कार्यक्रम सञ्चालक किशन शर्मा प्राय: रफीका साथ लाइभ संगीत समारोहमा जाने गर्थे । ‘रफी पनि समयनिष्ठ थिए । एकपटक उनलाई आउनमा एक घण्टा ढिलो भयो । आउनासाथ उनले माफी माग्दै ‘म शंकर जयकिशनको रेकर्डिङमा फँसे’ भने’, किशन सम्झन्छन् । रफीको यो भनाई सुनेपछि नैयरले रफीलाई जवाफ फर्काएका थिए । ‘तपाईंसँग शंकर जयकिशनको लागि समय थियो, ओपी नैयरका लागि होइन । आजदेखि ओपी नैयरसँग रफीका लागि समय हुनेछैन’, नैयरको जवाफ थियो । यसपछि उनले रेकर्डको काम रोके र लेखापाललाई रफीको हिसाब मिलाउन आदेश दिए । यसपछि एक पत्रकारले पूरा मामलालाई जोड्ने उद्देश्यले रफीलाई ‘नैयरले तपाईंलाई यस्तो अपमानजनक व्यवहार कसरी गर्न सक्छन् ?’ भनी सोधेका थिए । रफीले उनलाई विनम्रतापूर्वक ‘म गलत थिएँ, नैयर साहब सही हुनुहुन्थ्यो’ भनी जवाफ दिएका थिए । तीन वर्षपछि रफी नैयरको घर गए । नैयरले आफ्नो मनपर्ने गायकलाई ‘रफी तिमीले यहाँ आएर साबित गर्यौ कि तिमीभन्दा कैयौं गुना राम्रो मान्छे हौ । तिमीले आफ्नो अहंकारलाई जित्यौ, जुन मैले गर्न सकिनँ’ भनेका थिए । मोहम्मद रफी र एसडी बर्मनको जुगलबन्दी मोहम्मद रफीले एसडी बर्मनका लागि निकै लोकप्रिय गीत गाए । सन् १९५८ मा फिल्म ‘कालापानी’का लागि उनले गाएको गीत ‘हम बेखुदी मे’ निकै लोकप्रिय भएको थियो । राजू भारतनले आफ्नो पुस्तक ‘अ जर्नी डाउन मेमोरी लेन’मा सन् १९७१ मा रिलिज फिल्म ‘गेम्बलर’का लागि रफीले गाएको गीत ‘मेरा मन तेरा प्यासा’ को एक किस्साबारे लेखेका छन् । ‘जब रफी यो गीतको फाइनल रिहल्सलका लागि एसडी बर्मनको घर पुगे, तब बर्मनले उनलाई ‘तपाईं हरेक गीतका लागि कति तयारी गरेर आउनुहुन्छ ?’ भनी सोधेका थिए । त्यसपछि रफीले ‘तपाईं मेरो कारमा बस्नुहोस् । हामी महालक्ष्मीको प्रख्यात ल्याबमा गएर यो गीत रेकर्ड गरौं’, भनेका थिए । तर बर्मनले ‘म तपाईंको कारमा होइन, तपाईं मेरो कारमा बसेर स्टुडियोमा जानुहुनेछ’ भनी जवाफ दिएका थिए’, पुस्तकमा उल्लेख छ । यसको कारण यो थियो कि बर्मन रफीको गाडीको ड्राइभरको अगाडि रफीलाई गीत गाउन निर्देशन दिन चाहँदैन थिए । फेमस स्टुडियो गइरहँदा रफीले बर्मनको कारमा यति राम्रो रिहल्सल गरे कि उनले पहिलो टेकमै ‘मेरा मन तेरा प्यासा’ गीत ‘ओके’ गरे । [caption id="attachment_141412" align="alignnone" width="800"] मोहम्मद रफ़ी र किशोर कुमार । फोटो: ओम बुक्स्/बीबीसी[/caption] लता मंगेशकरसँग झगडा र मेलमिलाप रफी लता मंगेशकरलाई आफ्नो बहिनी जस्तै मान्थे । ‘उहाँले एकपटक कसैलाई मलाई उर्दु सिकाउनका लागि पठाउनुभएको थियो । उहाँको कारणले मैले उर्दु बोल्न सिकें, जुन भाषा साहिर लुधियानवी, मजरूह सुल्तानपुरी, शकील बदायूँनी, नक्श लायलपुरी र राजेन्दर कृष्णको गीतका लागि आवश्यक थियो’, लताले एक अन्तरवार्तामा भनेकी थिइन् । ६० को दशकमा रोयल्टी मुद्धामा रफी र लताबीच मतभेद भएको थियो र दुवैले सँगै गीत गाउन छोडे । सचिनदेव बर्मनको प्रयासले यी दुईबीच मेलमिलाप भयो । नरगिसले पनि यसमा महत्वपूर्ण भूमिका निभाइन् । रफीले किशोरका लागि गाए गीत रफी भारतमा मात्र होईन शायद विश्वमै एक्ला यस्ता गायक थिए, जसले आफ्नो स्वर अर्का गायकका लागि दिएका छन् । दुई फिल्म ‘रागिनी’ र ‘शरारत’मा उनले किशोर कुमारका लागि गीत गाएका थिए । किशोर कुमारसँग काम गरेका गीतकार सुधाकर शर्माका अनुसार ९० को दशकमा किशोर कुमार दिनमा दुईदेखि तीन गीत रेकर्ड गर्थे । तर जुन दिन उनले रफीसँग गाउनुपथ्र्यो, पुरा दिन त्यही गीतका लागि समय छुट्याउँथे । किनकी उनलाई रफी ‘परफेक्शनिस्ट’ हुन् र उनलाई अन्तिम रेकर्डिङअघि घण्टौं अभ्यास गर्नुपर्छ भन्ने थाहा थियो । रफीलाई अंग्रेजीमा अटोग्राफ दिन आउँदैन थियो धेरै मानिसलाई यो कुरा थाहा पाउँदा अचम्म लाग्दो हो कि मोहम्मद रफीलाई अटोग्राफ साइन गर्न आउँदैन थियो । एकपटक रफी र महेन्द्र कपूर अल इण्डिया रेडियोबाट फर्किरहेका थिए । केही व्यक्तिले रफीलाई चिनेपछि उनलाई अटोग्राफ माग्न थाले । उनले महेन्द्रलाई पञ्जाबी भाषामा ‘के माग्दैछन् ?’ भनेर सोधे । त्यसपछि महेन्द्रले ‘तपाईंको हस्ताक्षर माग्दैछन्’ भन्ने जवाफ दिएपछि रफीले तुरुन्तै महेन्द्रलाई ‘तिमी नै गरिदेऊ’ भनेका थिए । त्यो समयसम्म रफीलाई अंग्रेजीमा हस्ताक्षर गर्न आउँदैन थियो । जसो–जसो उनी लोकप्रिय हुँदै गए, उनले फ्यानलाई निरास नबनाउनका लागि हस्ताक्षर गर्ने अभ्यास थाले । रफीका छोरा शाहिदका अनुसार मोहम्मदले अभ्यासका लागि धेरै कागज नष्ट गरेका थिए । तर जब उनी हस्ताक्षर गर्न पोख्त भए, तब एक पत्रकारले उनको हस्ताक्षरको तारिफ गर्दै ‘फिल्म उद्योगमा उनको हस्ताक्षर सुन्दर छ’ भनेका थिए । चंगा उडाउने सोख रफीको प्रिय सोख चंगा उडाउने थियो । उनको चंगा कालो रंगको थियो । आकाशमा कालो रंगको चंगा जोकोहीले देख्दा रफी घरको छतमा चंगा उडाइरहेको अनुमान लगाइन्थ्यो । उनी पञ्जाबबाट चंगाका लागि माँझा मगाउँथे । क्याराम खेल्न र दूध पिउन सोखिन खाली समयमा रफी मेहदी हसन र गुलाम अलीको गजल सुन्थे । शाहिदका अनुसार आइतबार बच्चाको साथ क्यारामबोर्ड र ब्याडमिन्टन खेल्थे । उनलाई बक्सिङ खेल हेर्न ठूलो सोख थियो । उनी अम्बा खान उत्तिकै रुची राख्थे र मानिसलाई अम्बा खान बोलाउँथे । एक खाँटी पञ्जाबीको जस्तै उनलाई दूध पिउन मनपथ्र्यो । कुनै रेकर्डिङ नहुँदा उनी बार्दलीमा बस्थे र जब दूधवालाले दूध ल्याउँथ्यो, उनी दुई बोतल दूध बाहिर नै पिउँथे । दूधवालाले रफीकी आमालाई उनको दूध कम भयो भन्दै गुनासो गथ्र्यो । हलमै सुत्ने बानी रफीलाई हलिउड फिल्म हेर्ने सोख थियो । उनको मनपर्ने फिल्म ‘द मेग्निफिसेन्ट सेवेन’ थियो । उनकी बुहारी यासमीन खालिद रफीका अनुसार जब रफी कुनै हलिउड फिल्म हेर्न बस्थे, तब उनको छोराछोरी फिल्मको कथा अगाडि नै भनिदिन्थे । जसै फिल्म सुरु हुन्थ्यो, तब छोराछोरीले संवादको हिन्दी उल्था गरिदिन्थे । पीटर सेलर्स उनको मनपर्ने अभिनेता थिए । उनको फिल्म ‘द पार्टी’ रफीलाई निकै मनपथ्र्यो । कहिलेकाँही उनी हलमा फिल्म हेर्न जान्थे, तर फिल्म सुरु भएको केही मिनेटमै उनी निदाउँथे । ५५ वर्षमै निधन ३१ जुलाई, १९८० मा रफीलाई हृदयघात भयो । उनकी पत्नी बिलकिसले रफीको औला निलो देखिन् । त्यसपछि तुरुन्त चन्द्रिरामणिलाई बोलाइन् । जब उनको स्वास्थ्य परीक्षण गरियो, उनको रक्तचाप उच्च भएको थाहा भयो । किनकी उनी पसिनाले भिजेका थिए । केही मिनेटमै अस्पतालबाट एम्बुलेन्स बोलाइयो । तर रफीले आफ्नै कारबाट अस्पताल जाने अडान लिए । उनलाई नेसनल हस्पिटलको आइसियूमा भर्ना गरियो । तर त्यहाँ पेसमेकरको व्यवस्था थिएन । त्यसपछि उनलाई बम्बे अस्पतालमा सारियो । त्यहाँ डाक्टरले सवा घण्टासम्म अपरेसन गरेर शरीरमा पेसमेकर लगाइदिए । जब रफीलाई होस आयो, तब उनले आफ्नो शरीरमा लगाइएका सबै पाइप र अक्सिजन ड्रिपलाई हटाउने प्रयास गरे । जब छोरी नसरीनले उनीतिर हेरिन्, रफीको आँखामा आँशु थिए । राती १० बजेर २५ मिनेटमा हृदयरोग विशेषज्ञ डाक्टर मोदीले बाहिर आएर उनको परिवारलाई रफी संसार नरहेको खबर दिए । त्यो समयमा उनी ५५ वर्षका थिए । भारतीय फिल्म उद्योगको इतिहासमा पहिलोपटक रफीको सम्मानमा दुई दिन राष्ट्रिय शोकको घोषणा गरियो । बीबीसी हिन्दीबाट  
प्रकाशित मिति: बुधबार, मंसिर ७, २०७९  २३:०२
प्रतिक्रिया दिनुहोस्